कात्तिक १८ गतेभन्दा अघि कोणसभा र आमसभा नगर्न निर्वाचन आयोगको चेतावनी



कात्तिक १८ गतेभन्दा अघि कोणसभा र आमसभा नगर्न निर्वाचन आयोगको चेतावनी

काठमाडाैँ ३१ असाेज । निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ गतेदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताए ।

यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने उहाँले चेतावनी दिएका छन् ।

निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको पनि आयुक्त भण्डारीको भनाइ छ ।

यस्तै आयुक्त भण्डारीले अहिले घरदैलोमा जाँदा बढीमा २५ जनासम्मको समूहमा जान सकिने बताए । तर घरदैलोमा जाँदा पनि बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने उनले बताए । अहिले घरदैलोको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी आइरहेको पनि उनले बताए ।

यस्तै निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।

सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् ।

उनले उम्मेदवारहरूले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो काम नगर्न अनुरोध गरे । उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरे ।

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नकाे प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले त्यहीअनुसार काम गर्न पनि आयोगका सचिव दुवाडीले आग्रह गरे ।

त्यस्तै उहाँले कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने बताए । उनले खेलकुद, पुरस्कार वितरणलगायतका कार्यक्रममा राजनीतिक आबद्धता देखाउन नहुने पनि उल्लेख गरे । आयोगका सचिव दुवाडीले पालिकासँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गरे ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरीय समितिको व्यवस्था भएको र त्यही समितिअन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउनुपर्ने उनले बताए । कर्मचारीलाई चुनावमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उनले त्यस्तो आरोपबाट मुक्त हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे