पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिमा मत बाझियो



पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिमा मत बाझियो

काठमाण्डाै १२ साउन । बजेट निर्माण प्रकृयामा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएकोबारे छानबिन गर्न गठित समितिमा सदस्यहरूबीच मत बाझिँदा समितिले निष्कर्ष लेख्न सकेको छैन । अहिलेसम्म भेटिएका तथ्य/प्रमाण समेटेर प्रतिवेदन तयार पार्ने र भोली (शुक्रवार) प्रतिनिधि सभालाई बुझाउने तयारी भइरहेको समितिले जनाएको छ ।

संसदीय विशेष समितिको प्रतिवेदन लेखनमा सदस्यहरूबीच मत बाझिएको हो । हिजो लगातार ६ घन्टा समितिमा छलफल भए पनि प्रतिवेदनमा लेख्ने छानबिनको निष्कर्षबारे सहमति जुट्न सकेन ।

समितिमा रहेका सत्तारूढ दलका सांसदहरू अनधिकृत व्यक्तिको प्रवेशको कुनै तथ्य नभेटिएकाले त्यही निष्कर्षसहित प्रतिवेदन लेख्नुपर्ने पक्षमा छन् । तर, प्रमुख प्रतिपक्षी एमालेका सांसदहरु सम्बन्धित निकायको असहयोग र प्राविधिक अस्पष्टताका कारण छानबिन अधुरो भएकाले सफाइ दिन नहुने पक्षमा छन् । सकेसम्म सर्वसम्मत प्रतिवेदन बनाउन प्रयास भइरहेको र सर्वसम्मत नभए बहुमतीय प्रक्रियाबाट अगाडि बढ्ने समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

बजेट निर्माणको अघिल्लो दिन जेठ १४ गतेको राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरे/नगरेको छानबिन गर्न प्रतिनिधि सभाले असार २२ मा विशेष समिति गठन गरेको थियो । त्यही दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए । १० दिन समयसीमा तोकिएको समितिले असार २८ देखि काम थालेको थियो । समितिले तोकिएको समयमै काम नसकेपछि साउन ५ गते थप एक हप्ताको म्याद थपिएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे