संसदीय छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि बोलायो



संसदीय छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि बोलायो

काठमाडौँ ३ साउन । बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको उपस्थितिबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने भएको छ । समितिको मंगलबार बसेको बैठकले शर्मालाई बयानका लागि बोलाउने निर्णय गरे पनि समय भने तोकेको छैन । बुधबार समय भयो भने पूर्वअर्थमन्त्री शर्मासँग बयान लिनेछौं,’ समितिका एक सदस्यले भने, ‘नभएमा बिहीबार शर्मासँग बयान हुनेछ ।’

समितिको बैठकले बुधबार पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । त्यसैगरी बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको बारेमा पहिलो पटक समाचार लेख्ने अन्नपूर्ण दैनिकका पत्रकार सहित यस विषयमा समाचार लेखिरहेका अन्य पत्रकारलाई पनि छलफलका लागि बोलाउने निर्णय गरेको ती सदस्यले बताएका छन् ।

त्यसैगरी, सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहयोग लिने निर्णय गरेको छ । बजेट निर्माणको क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरेको हो । असार २२ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे