राप्ती गाउँपालिकाको कार्यपालिका घुम्ती बैठक सुरु, विभिन्न विषयगत समिति गठन



राप्ती गाउँपालिकाको कार्यपालिका घुम्ती बैठक सुरु, विभिन्न विषयगत समिति गठन

भालुवाङ २६ जेठ । राप्ती गाउँपालिकाले फरक शैलीमा कार्यपालिकाको घुम्ती बैठक सुरु गरेको छ । सधंै गाउँपालिकाको प्रशासनिक भवन मसुरियामा बस्दै आएको कार्यपालिकाको बैठक बुधवार राप्ती गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालय रुपकोटमा सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका नवनिर्वाचित जनप्रतिनिधिहरुले फरक शैलीमा कार्यक्रम गर्ने कोसिश गर्दै आएका छन । अब देखि प्रत्येक वडामा घुम्ती कार्यपालिकाको बैठक हुने गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिएका छन् । किन कार्यपालिकाको घुम्ती बैठक गर्नु पर्यो भन्ने प्रश्नमा अध्यक्ष बिष्टले सबै वडा अध्यक्षहरु प्रत्येक वडामा जान सक्ने र वडाले गरेको बिकास हेर्न सक्ने भएको हुँदा आफुहरुले घुम्ती बैठक आयोजना गरेको बताए ।

यसै बीच राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको दोस्रो पुर्ण बैठकले विभिन्न बिषयगत समिति गठन गरेको छ । जसमा १ नम्बर वडा अध्यक्ष गेमबहादुर खड्कालाई आर्थिक बिकास समितीको संयोजक, वडा नम्बर ५ का वडा अध्यक्ष देबप्रसाद चौधरीलाई शुसासन तथा संस्थागत बिकास समितीको संयोजक, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङलाई वन, वातावरण तथा बिपद व्यबस्थापन समितीको संयोजकको जिम्मेवारी तोकेको छ ।

यसै गरि वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चौधरीलाई सामाजिक बिकास समिती, वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीलाई पुर्वाधार बिकास समिती, उपाध्यक्ष कमलापति चौधरीलाई स्थानीय राजस्व परामर्श समिती र अध्यक्ष प्रकाश बिष्टलाई श्रोत अनुमान तथा बजेट सिमा समितीको जिम्मेवारी तोकेको छ ।

यस अघि गाउँपालिकाको प्रवक्तामा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीलाई प्रवक्ताको जिम्मेवारी समेत प्रदान गरिसकिएको छ । यस्तै आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेट तयारी गर्न असार ६ गते गाउँसभाको बैठक बस्ने निर्णय समेत भएको प्रवक्ता पहलवान चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे