मन शान्ति भए मात्र विश्व शान्ति हुन्छ : अध्यक्ष विष्ट



मन शान्ति भए मात्र विश्व शान्ति हुन्छ : अध्यक्ष विष्ट

सिसहनियाँ २२ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सवैको मन शान्ति भए मात्र विश्व शान्ति हुने बताएका छन् ।

शनिबार   शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाको नवाैं स्थापना दिवसको अवसरमा विश्व शान्तिका लागि ऐतिहासिक ३ करोड बढी बत्ती प्रज्वलन उद्घाटन समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले नेपाल सहित विश्वभर जुन किसिमको अशान्ति छ, त्यसका लागि आफुबाटै शान्ति कायम गर्न मन बदल्न जरूरी रहेको पनि बताएका छन् । मनमा शान्ति नहुँदा सम्म परिवार, समाज र देशमा शान्ति हुन नसक्ने बताएका छन् ।

अध्यक्ष विष्टले शिवसवरी धामको विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने समेत उनले बताएका छन् । त्यस्तै उनले राप्ती गाउँपालिका ९ देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिरको विकासका लागि केवुलकार नभए जिपलाई बनाउने बताएका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, शिवसवरी धाम धार्मिक केन्द्रकी संरक्षक तथा गुरु शिवलक्ष्मी चाैधरी, प्रमुख बाचक शिरोमणी पण्डित दिपक प्रसाद पाैडेल, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, नेपाली कांग्रेस राप्ती गाउँपालिकाकी उपसभापति श्यामा रावत, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका सचिव तुला गिरी, जनता समाजवादी पार्टी राप्ती गाउँपालिकाका अध्यक्ष रणप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका माधव आचार्य, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, भद्राक्षी देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन पाण्डे, हाम्रो लुम्बिनी न्युज डटकमका प्रधान सम्पादक बासुदेव न्याैपाने, दर्शनयात्री राकेश पटेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्य तथा केन्द्रका उपाध्यक्ष हरिबहादुर बुढाक्षेत्रीको विषयवस्तु प्रवेशबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

जेठ २५ गते सम्म सञ्चालन हुने कार्यक्रममा दैनिक विहान ८ बजे देखि ९ बजे सम्म पुजापाठ, विहान १० देखि ४ बजे सम्म र बेलुका ८ देखि राति १० बजे सम्म प्रमुख बाचक शिरोमणी पण्डित दिपक प्रसाद पाैडेलद्वारा संगितमय कथा बाचन, भजनकृतन, झाँकी, आरती रहने छ ।

कार्यक्रममा ५ हजार बढी दान गर्नेलाई खाँदा, फूलमाला र सम्मान पत्रले सम्मान गरिने छ भने आजिवन सदस्यता लिन चाहनेका लागि रू ३ हजार बुझाएर सदस्य बन्न सकिने बताइएको छ ।

आज भन्दा ९ वर्ष अगाडि आफुमा दैविय शक्ति प्राप्त भएको बताउँदै यहाँ आउने जो कोहीले पनि गंगा स्नान र पुजापाठ गरे आफुले चिताएको कुरा पूरा हुने र विभिन्न किसिमका रोग व्याधी सन्चो हुने गरेको बताइएको छ ।

सो धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, सागरघाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे