तारा एअरको जहाज मुस्ताङको सानोस्वारे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो



तारा एअरको जहाज मुस्ताङको सानोस्वारे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाण्डाै १६ जेठ । हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्विटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको जानकारी दिएका छन् । उनका अनुसार जहाज मुस्ताङको थसाङ-२ सानोस्वारे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सिलवालले ट्विटरमा दुर्घटनाग्रस्त विमानको तस्बिर पनि राखेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको हो ।

हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको थियो ।

हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे