देशका धेरै ठाउँको वायु प्रदूषण खतराको तहमा, सोमवार देखि मात्रै मौसम खुल्ने अनुमान



देशका धेरै ठाउँको वायु प्रदूषण खतराको तहमा, सोमवार देखि मात्रै मौसम खुल्ने अनुमान

काठमाण्डाै ११ मंसिर । देशका धेरै ठाउँको वायु प्रदूषण बढेको छ । विराटनगर, सिमरा, कीर्तिपुर, रत्नपार्क, पोखरा  र धनगढीमा वायु प्रदूषण निकै बढेको छ ।

सिमराको प्रदूषण १ सय ९६ एक्यूआई, विराटनगरको १ सय ८१, कीर्तिपुरको १ सय ५६, रत्नपार्कका १ सय ५७ र धनगढीको १ सय ५४ एक्यूआईसम्म पुगेको त्यहाँ रहेका स्टेसनहरुले देखाएका छन् । यो विश्व स्वास्थ्य सङ्गठनले भनेको स्वस्थ वायुको मापदण्डभन्दा निक्कै धेरै हो ।

सङ्गठनका अनुसार स्वस्थ एक्यूआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा तल निर्धारण गरेको छ । एक्यूआई २ सयभन्दा धेरै भएमा स्वास्थ्यका लागि अति जोखिमपूर्ण मानिन्छ । वायु प्रदूषण अझै बढ्न नदिनका लागि जङ्गलमा डढेलो नलगाउन, फोहोर नबाल्न  सचेतनाका कार्यक्रमहरु सुरु गरिएको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताए ।

गएको वर्षको हिउँदमा प्रदूषण उच्च भएर विद्यालयसमेत बन्द गर्नुपरेको भन्दै त्यस्तो अवस्था आउन नदिनका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरिएको उनले बताए । चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएका धुलो, धुवाँका कण सतहमा थिग्रिएका छन् । त्यही कारण वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।

यता आउने सोमवार देखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।आज र भोलि पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कतैकतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने नभएको मौसमविद् निराजन सापकोटाले बताए। उनका अनुसार अहिले सबैजसो उपत्यका र तराईका धेरैजसो ठाउँमा बाक्लो तुवाँलो लागेको छ ।

न्यूनतम तापक्रम खासै नघटेको भए पनि अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको छ । यस्तै  पानी पार्ने न्यूनचापीय प्रणाली विकसित भइरहेकाले आज राति भने प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा  हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे