दाङको बेलझुण्डीमा विद्यार्थीको आक्रोश, रजिष्टारको कार्यकक्षमा एक घण्टा ताला



दाङको बेलझुण्डीमा विद्यार्थीको आक्रोश, रजिष्टारको कार्यकक्षमा एक घण्टा ताला

दाङ १ असोज । सबैतिर निजी तथा सामुदायिक विद्यालयमा भौतिक उपस्थितिमा पढाइ हुँदा विद्यार्थी उत्साहित भइरहेको अवस्थामा दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्साको स्नातक तह बीएएमएस पढ्ने विद्यार्थी भने आक्रोशित बनेका छन् ।

नजिकैका विद्यालयमा साना बालबालिकाहरु भौतिक उपस्थितिबीच अध्ययन गरिरहँदा आयुर्वेद चिकित्सा शास्त्र अध्ययन गर्ने बीएएमएसका विद्यार्थी भने विश्वविद्यालय प्रशासनमा आक्रोशित देखिएका छन् । उनीहरुले अघिल्लो वर्षकै माग दोहोर्याएर आन्दोलनमा आएको बताएका छन् ।

“हाम्रो अघिल्लै वर्षदेखिको माग हो, हामीलाई हाम्रो क्याम्पस चाहियो, चिकित्सा शिक्षाजस्तो नितान्त प्रयोगात्मक शिक्षा अनलाइनमा मात्र सम्भव छैन”, बीएएमएसका एक विद्यार्थीले भने । कोरोनाको महामारीका बेला क्याम्पस भवन अस्पताललाई दिनु स्वाभाविक भए पनि अहिलसम्म पनि आफूहरुको पढाइलाई बेवास्ता गरिनु विश्वविद्यालय प्रशासनको गैरजिम्मेवारीपन भएको पनि विद्यार्थीको भनाइ थियो ।

लुम्बिनी प्रदेश सरकारले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस भवनमा अस्थायी रुपमा सञ्चालन गरेको कोरोना विशेष अस्पताल दुई वर्षसम्म पनि स्थायीरुपमा व्यवस्थापन हुन नसक्दा आयुर्वेद चिकित्सा अध्ययन गर्दै आएका करिब ३ सय विद्यार्थी दुई वर्षदेखि क्याम्पस जान पाएका छैनन् ।

प्रयोगात्मक कक्षामा समेत उनीहरुलाई मुस्किल भएको छ । विद्यार्थीले आफ्नो क्याम्पस माग्दै आन्दोलन थाल्दा उनीहरुको मागमा समर्थन जनाउने नेपाल संस्कृत विश्वविद्यालयका उच्च अधिकारीहरु नै आयुर्वेद चिकित्सा शिक्षालाई बेलझुण्डीबाट विभिन्न बहानामा विस्थापित गर्न चाहेको विश्वविद्यालय सम्बद्ध एक अधिकारीले बताएका छन् ।

“केही संस्कृतका गुरुहरु नेसंविमा चल्दै आएको आयुर्वेद चिकित्सा शिक्षाप्रति सकारात्मक देखिनुहुँदैन”, ती अधिकारीले भने । खासमा नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरु नै गम्भीररुपमा प्रस्तुत नहुँदा तीन सय विद्यार्थीको शिक्षा दुई वर्षदेखि अन्योलको अवस्थामा छ ।

चार वर्षे बिएएमएस सात वर्षमा पनि पूरा हुन सक्ने अवस्थामा देखिँदैन । विद्यार्थीले कोरोनाको संक्रमण न्यून हुँदै गएर अस्पतालमा बिरामीको संख्या अत्यन्तै न्यून भएको अवस्थामा अघिल्लो वर्ष पनि आफ्नो क्याम्पस माग गर्दै सडक आन्दोलनसमेत गरेका थिए ।

यो वर्ष पनि कोरोना संक्रमण न्यून भएको अवस्थामा विद्यार्थीले क्याम्पस प्रशासनसँग आफूहरुको भौतिक उपस्थितिबीच पढाइ हुनुपर्ने माग गरेका हुन् । सोमवार उनीहरुले नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीकै कार्यकक्षमा एक घण्टा तालासमेत लगाए । भौतिक रुपमा पठन–पाठन कहिलेदेखि हुन्छ भन्ने बाह्रखरीको प्रश्नमा रजिष्टार माधव अधिकारीले भने, “त्यो त क्याम्पसका प्राचार्यलाई सोध्न्स् ।” जहिले टिचर जुट्छन् त्यहिले पढाइ सुरु हुने रजिष्टार अधिकारीको अभिव्यक्ति थियो ।

नेपाल संस्कृत विश्वविद्यालयले अस्थायी कोरोना विशेष अस्पताललाई अन्यत्र व्यवस्थापन गर्न अर्थपूर्ण पहल गर्न सकेको छैन । विश्वविद्यालयका केही उच्च पदाधिकारीहरु अस्पताललाई त्यही राख्ने तर क्याम्पस र शिक्षण अस्पताललाई अन्तै विस्थापित गर्ने गृहकार्यमा रहेका छन् ।

विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरुले क्याम्पस भवन अन्तै बनाउन अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारसँग ८० लाख रुपैयाँ माग गरेपछि प्रदेश सरकारले आयुर्वेद क्याम्पस भवन बनाउनका लागि ५० लाख रुपैयाँ विश्वविद्यालयलाई उपलव्ध गराइसकेको छ ।

भवन कहाँ बनाउने भन्ने आन्तरिक कसरतमा विश्वविद्यालयका अधिकारीहरु लागिरहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयले निर्माण गरिसकेको संरचनाको स्वामित्व प्रदेश सरकारलाई सुम्पने अभ्यास समेत सुरु भएको विश्वविद्यालय स्रोतले बताएको छ ।

आयुर्वेद अध्ययन संस्थानका डिन प्रा.डा. सन्जय पोख्रेलले विद्यार्थीलाई क्याम्पस भवन हस्तान्तरणको अर्को विकल्प नरहेको भन्दै नेपाल संस्कृत विश्वविद्यालयका सबै पदाधिकारीहरुको अर्थपूर्ण पहलको आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे