LISTEN LIVE RADIO

बेमौसमी झरीले धानबालीमा क्षति, उत्पादन घट्नेमा किसानहरु चिन्तित



बेमौसमी झरीले धानबालीमा क्षति, उत्पादन घट्नेमा किसानहरु चिन्तित

सिसहनियाँ १७ असोज । धान काट्ने बेलामा परेको झरीले धानबालीमा क्षति पु¥याएको छ । दाङ सहित देशैभर भइरहेको वर्षाले काट्न ठिक्क परेको धानलाई कतै हावापानीले ढालेको छ भने कतै काटेर राखेको धान खेतमा डुवेको छ । यस्तै समस्या देउखुरीमा पनि रहेको छ । केहि दिन पहिला धानबालीमा लाग्ने फट्के किराबाट नोक्सानी व्यहोरेका किसानहरु बेमौसमी झरिले थप घाटा व्यहोर्नु परेको छ । भने उत्पादन घट्नेमा किसान चिन्तित बनेका छन् । राप्ती गाउँपालिका–५ का किसान जगबहादुर चौधरीले दश कट्ठामा धान खेती गरेका छन् । उनले लगाएको धान हावाहुरीसहित परेको पानीले ढालिदिएको छ । जसले गर्दा धान कुहिने हो कि भन्ने चिन्ताले सताएको चौधरीले बताए ।

‘यस्तै पानी परिरह्यो भने धान भित्रायाउन मुस्किल पर्छ’– उनले भने– ‘सधैं धान भित्रायाउने बेलामा पानी पर्न थाल्यो । हामी किसानलाई समस्याले घे¥यो ।’ मौसम पुर्वानुमान महाशाखाले अझै तीन चार दिन पानी पर्ने जनाएपछि कृषि मन्त्रालयले धान नकाट्न किसानलाई अनुरोध गरेको थियो । अहिले दाङ जिल्लाको देउखुरी उपत्यकामा गरिएको धान तयार भइसकेको छ । केही किसानले धान भित्रायाए पनि ठूलो मात्रामा धान काट्न बाँकी छ । ‘दुई चार कट्ठामा गरिएको धान काटिएको छ । तर ठूलो मात्रामा धान काट्नै बाँकी छ’– कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले भने– ‘दुई चार दिन यस्तै लगातार पानी परिरहने र धान खेतमा बाढी पस्ने हो भने क्षति धेरै हुन सक्छ । तर अहिले नै क्षति भइसकेको भन्ने विवरण छैन ।’

पानीले काटिसकेको धानमा क्षति गर्न सक्ने राप्ती गाउँपालिका कृषि शाखाका प्रमुख सीमा भट्टले जानकारी दिइन् । उनका अनुसार किसानलाई धान नकाट्न भनिएको छ । अहिले केही किसानले खेतमै त्रिपाल टाँगेर धान ढाकेका छन् भने केही किसानले काटेको धान दाइसकेका छन् । हिजो सम्म धान काटेका किसानले भने धान सुरक्षित गर्न सकेका छैनन् । खेतका गहरामा काटिएको धान भिजेको छ । जिल्लामा ६५ हजार नौ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये ३० हजार चार सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जिल्लामा ३० प्रतिशत जमिनमा मात्रै सिंचाई सुविधा पुगेको ज्ञान केन्द्रले जनाएको छ । १९ हजार छ सय ५१ हेक्टर जमिनमा पूर्णरुपमा सिंचाई सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिंचाईको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे