LISTEN LIVE RADIO

राप्तीका किसानहरुको माग : सहुलियत व्याज दरमा ऋण प्रवाह होस्



राप्तीका किसानहरुको माग : सहुलियत व्याज दरमा ऋण प्रवाह होस्

भालुवाङ १६ असोज । राप्ती गाउँपालिकाकाका किसानहरुले बैंक तथा वित्तिय संस्थाहरु सँग सहुलियत दरमा ऋण प्रवाह गर्न माग गरेका छन् ।

मंगलवार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा आइ.एम संस्थाको सहयोगमा राप्ती गाउँपालिका र स्वान संस्थाको आयोजनामा सञ्चालित उद्यमशीलता विकासका लागि बैंक तथा वित्तिय संस्था उद्यमीको पहुँच विषयक अन्तरक्रियामा बोल्दै किसानहरुले चर्को दरमा ऋण लिदा लगानी समेत नउठ्ने भएकाले किसानको पिर मर्का बुझेर ऋण प्रवाह गर्न सम्बन्धित पक्ष सँग माग गरेका हुन् । त्यस्तै किसानहरुले उत्पादन गरेको वस्तुले बजार भाउ नपाउने, विचौलिया सँग ठगिने, लगानी अनुसारको उत्पादन गर्न नसक्ने, सरकारबाट पाउने सेवा सुविधा वास्तविक किसानल नपाई गैर किसानले पाउने जस्ता समस्या तथा गुनासाे पोखेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सफल व्यवसायी बन्न चाहाने किसानले योजना बनाएर ल्याए गाउँपालिकाले लगानी गर्न तयार रहेको बताएका छन् । त्यस्तै उनले कृषि क्रान्ति विना आर्थिक सम्वृद्धि समेत हुन नसक्ने भएकाले गाउँपालिकालाई तरकारी, केरा, अण्डा, मासु, दुधमा आत्मनिर्भर बनाउन सकिने बताएका छन् । त्यसका लागि को वास्तविक किसान हो त्यसको वडाले पहिचान गरि उत्पादनमा आधारित रहेर लगानी लगाउने काम समेत सुरु गरिएको अध्यक्ष विष्टले बताए । त्यस्तै कार्यक्रममा सहभागी बैंक तथा वित्तिय संस्थाका शाखा प्रमुखहरुले आफ्नो संस्थाबाट कृषि तथा उद्यम विकासका लागि गर्ने लगानीका विषयमा जानकारी गराउनुका साथै केहि भए पनि राहत दिन सक्ने बताएका थिए ।

स्वान संस्थाका अध्यक्ष कृष्ण कुमार चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किसानले उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, राप्ती गाउँपालिका कृषि विकास शाखाकी प्रमुख सिमा भट्ट, कृषि विकास बैंक मौरीघाटका शाखा प्रमुख नरवदेश्वर चौधरीले दिएका थिए । स्वानका कार्यक्रम संयोजक रेमन्त चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार दशरथ घिमिरे गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे