LISTEN LIVE RADIO

देउखुरीकाे मौरीघाट देखि बंगलाचुली जोड्ने गणतन्त्र मार्गको दायाँबायाँ फूलप्रजातिको बिरुवा रोपियो



देउखुरीकाे मौरीघाट देखि बंगलाचुली जोड्ने गणतन्त्र मार्गको दायाँबायाँ फूलप्रजातिको बिरुवा रोपियो

भालुवाङ २० असार । दाङ—देउखुरीको मौरीघाट श्रीनारायण चोक देखि देविकोट हुँदै बंगलाचुली जोड्ने गणतन्त्र मार्गको दायाँबायाँ फूल प्रजातिको बिरुवा रोपिएको छ । राजमार्गलाई पर्यापर्यटन संग जोड्न र सौन्दर्यकरण गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा आज बुधबार उक्त मार्गको दायाँबायाँ बिरुवा रोपिएको हो ।

लुम्बिनी प्रदेशको राजधानी स्थल समेत रहेको राप्ती गाउँपालिका वार्ड नम्बर ४, मौरीघाट श्रीनारायणचोक देखि वार्ड नम्बर ९, देविकोट हुँदै बंगलाचुली सम्म जोड्ने गणतन्त्र मार्गको करिब डेढ किलोमिटर दायाँ, बायाँ विभिन्न फूलजातिको बिरुवा रोपिएको ४ नम्बर वडा अध्यक्ष तथा गणतन्त्र मार्ग सौन्दर्यकरण उपभोक्ता समूहका अध्यक्ष बिरबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार उक्त मार्गको सुन्दरपुर देखि करिब डेढ किलोमिटर उत्तर तर्फ मार्गको दायाँ—बायाँ कुलमोहड, जखरखण्ड र कल्की प्रजातिका ४ सय ४० वटा फूलको बिरुवा रोपिएको छ । लुम्बिनी प्रदेश सरकारको १६ लाख ७२ हजारको लागत स्टिमेटमा ४ सय ४० फूलको बिरुवा खरिद, र सोही परिमाणमा ट्रीगार्ड निर्माण र १ लाख ९६ हजार ६ सय १२ रुपैयाँ २९ पैसाको जनश्रमदानबाट उक्त बिरुवाहरु रोपिएको वडा अध्यक्ष चौधरीले बताए ।

बढ्दो शहरीकरणलाई थप सुन्दर बनाउन र सडकहरुलाई वातावरणमैत्री बनाउने उदेश्यले सडक सौन्दर्यकरण अभियान अन्र्तगत बिरुवा रोपिएको लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धब घिमिरेले बताए । उनले बिरुवा रोप्ने प्राविधिक बिषयहरु सिकाउने उदेश्य समेत राखिएको बताए ।

यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले रोपिएका सबै बिरुवा संरक्षण र रेखदेखको जिम्मा लिने बताए । उनले मरेको बिरुवाको ठाउँमा आर्को बिरुवा रोप्ने, हुर्काउने र बिरुवा ठुलो नहुन्जेल सम्म रेखदेख गर्ने सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिने बताए ।

बिरुवा रोपण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धब घिमिरे, वन डिभिजन कार्यालय लमहीका प्रमुख राजु क्षेत्री, राप्ती गाउँपालिका—४, नम्बर वडा अध्यक्ष अध्यक्ष बिरबहादुर चौधरी, वडा सदस्य, सशस्त्र प्रहरी वल नेपाल ज्वालामाई गण २९ नम्बर हेट क्वाटरका सशस्त्र प्रहरी जवानहरु, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरीहरु, ऐरावती आर्दश बहुमुखी क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरु र पत्रकारहरु गरी दुई सय बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे