दाङमा बैशाख ६ देखि जेठ १९ गते सम्म कृषि गणना हुँदै, १ सय १४ कर्मचारी खटिने



दाङमा बैशाख ६ देखि जेठ १९ गते सम्म कृषि गणना हुँदै,  १ सय १४ कर्मचारी खटिने

घोराही ४ वैशाख । हरेक १० वर्षमा हुने राष्ट्रिय कृषि गणना यस पटक बैशाख ६ गते देखि जेठ१९ गतेसम्म ४५ दिन दाङ सहित देशभरका सात सय ५३ वटै स्थानीय तह समेट्ने गरी हुन लागेको हो । २०१८ बाट सुरु भएको कृषि गणना सातौँ पटक हुन लागेको दाङका कृषि गणना अधिकारी तुलसीराम पोख्रेलले आज घोराहीमा आयोजित जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठीमा जानकारी गराए ।

जिल्ला स्थित कार्यालय प्रमुख र पत्रकाररु सहभागी जिल्ला स्तरीय गोष्ठीमा दाङका दशवटै पालिकाहरुमा कृषि क्षेत्र पहिचान गरी कृषि गणना गर्न लागिएको उनले बताए । उनका अनुसार जिल्लामा १ सय १४ जना कृषि गणनामा खटिने भएका छन् । ८३ जना गणक र २२ जना सुपरीवेक्षकले कृषि गणनाको काम दाङमा गर्ने भएका हुन् । समग्रमा विगतका कृषि गणनाभन्दा यस पटक गर्न लागिएको कृषि गणना फरक रहेको जिल्ला कृषि गणना अधिकारी पोख्रेलले बताए ।

यसै बीच, गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपक्षीको संख्या कृषि औजारको उपयोग, कृषि कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गा, कृषि वन, कृषि ऋण, बिमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, पशु आहारको स्रोत, कृषि बजार सम्मको पहुँच, कृषि अवशेष वा फोहोरको व्यवस्थापन लगायत कोभिड–१९ ले कृषि क्षेत्रमा पु¥याएको असर जस्ता प्रश्नावलीहरू समेटिएको उनले बताए ।

किसानले प्रयोग गर्ने विभिन्न प्रकारका मल, बिउ र विषादीको प्रयोग र उपलब्धता, किसान परिवारको आर्थिक, सामाजिक, रोजगारी र बेरोजगारीको अवस्था, उत्पादित कृषिउपजले उपभोग गर्न पुग्ने समय, खेतीयोग्य जमिन माथि महिलाको पहुँच लगायत विषय समेटिएका छन् । गणना अन्तर्गत कृषि क्षेत्र सँग सरोकार राख्ने पारिवारिक, व्यावसायिक र संस्थागत रूपमा सञ्चालन भइरहेका कृषि कार्यको तथ्यांक संकलन गरिन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे