LISTEN LIVE RADIO

भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा सैनिकको संख्या बढायो



भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा सैनिकको संख्या बढायो

नयाँ दिल्ली ६ पुस । चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले सैनिकको संख्या बढाएको छ । तनावग्रस्त क्षेत्रमा त्यसअघि परिचालित सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्‍याइएको भारतीय विदेशमन्त्री एस जयशङ्करले बताएका छन् । तर थपिएको सैनिक संख्या खुलाइएको छैन ।

विदेशमन्त्री जयशङ्करले चीन एक्लैलाई सीमाको यथास्थितिमा परिवर्तन ल्याउन नदिने समेत बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल राज्यमा केही दिन अघि भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको पछिल्लो प्रतिक्रिया आएको हो ।

चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ । झडप भएको सीमा क्षेत्र अहिले शान्त रहेको छ । दुई देशले शान्ति कायम राख्नेबारे छलफल गरिरहेका छन् । भारत र चीनबीच अरुणाञ्चल प्रदेशकाे ३ हजार ४ सय ४० किलोमिटर सीमा क्षेत्रमा विवाद छ ।

सन् २०२० मा लद्दाख क्षेत्रको गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको ज्यान गएको थियो । भारतले सैनिक थपेको जनाएपनि चीनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे