LISTEN LIVE RADIO

अरुणाञ्चलमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप, केही भारतीय घाइते



अरुणाञ्चलमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप, केही भारतीय घाइते

नयाँदिल्ली । भारतकाे अरुणाञ्चल प्रदेशमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप भएको छ । सीमा क्षेत्र तवाङको याङत्सेमा शुक्रबार राति भएको झडपको खबर हिजो मात्रै बाहिर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपमा केही भारतीय सैनिक घाइते भएको समाचार भारतीय पत्रिका ट्रिब्युन इन्डियाले जनाएको छ । ट्रिब्युनले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गरेर उल्लेख गरे अनुसार भारतको भूमिमा चिनियाँ सेना प्रवेश गरेपछि झडप भएको थियो । केही सैनिक घाइते भएपछि दुवै पक्षका ड्युटी कमाण्डरले वार्ता गरेर समस्या समाधानको पहल गरेका थिए ।

भारतीय पक्षले केही चिनियाँ सैनिक पनि घाइते भएको दाबी गरे पनि चीनले पुष्टि गरेको छैन । भारत र चीनबीच सीमा क्षेत्रमा पटक पटक झडप र लडाइँ हुने गरेको छ । यसअघि २०२० को जुन महिनामा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको ज्यान गएको थियो ।

यसैबीच, कांग्रेस नेता तथा राज्यसभा सांसद जयराम रमेशले मोदी सरकारले आफ्नो राजनीतिक छवि बचाउनका लागि सीमा क्षेत्रको झडप लुकाउन खोजेको र देशलाई खतरामा पारेको आरोप लगाएका छन् । देशभन्दा ठूलो कोही नहुनेमा मोदीले भने आफ्नो छवि जोगाउन देशलाई नै खतरामा पारेको उनको आरोप छ ।

रमेशले उत्तरी लद्दाखमा चीनले भारतमा घुस्न २ सय वटा स्थायी आश्रयस्थल बनाएको तर सरकार मौन रहनु नयाँ चिन्ताको विषय बनेको कांग्रेसका सांसद रमेशको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे