कान्तिपुरका अध्यक्ष पक्राउ : सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण छ : पत्रकार महासंघ



कान्तिपुरका अध्यक्ष पक्राउ : सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण छ : पत्रकार महासंघ

काठमाण्डाै ८ जेठ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिराेहियालाई प्रहरीले पक्राउ गरेकाे छ । सिराेहियालाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज थापाथलीमा रहेकाे कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो । सिराेहियालाई पक्राउ गर्न कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईसहितकाे टाेली पुगेकाे थियाे ।

दोहाेरो नागरिकता लिएको आरोपमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियाविरुद्ध आजै जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेकाे थियाे । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति निकालेर कानुन अनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने उनले बताए । सहकारीको रकम दुरुपयोगमा गृहमन्त्रीको संलग्नताबारे समाचार लेखेकै भरमा रिस साँध्न खोजिएको दाबी गर्दै सिरोहियाले आफू र आफ्नो संस्था निर्भिक भएर उभिने बताएका छन् ।

यता नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । महासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि भएको जनाएका छन् ।

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले ‘कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने’ जनाएको छ । ‘यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्य-तथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे