LISTEN LIVE RADIO

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनको बधाई !



अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनको बधाई !

काठमाडौँ २८ कार्तिक । चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनले ढिला गरी शुक्रबार बधाई दिएको हो ।

यसअघि विश्वका शक्तिराष्ट्र मानिने फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशले बाइडेनलाई बधाई दिए पनि चीनले पनि औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको थिएन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबारको प्रेस कन्फरेन्समा राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् । प्रवक्ता वाङको भनाई उद्धृत गर्दै समाचार संस्था एपीले लेखेको छ, ‘हामी अमेरिकी नागरिकको छनोटलाई सम्मान गर्छौं । बाइडेन र ह्यारिसलाई बधाई दिन चाहन्छौं । साथै चुनावी परिणाम अमेरिकी कानुन र प्रक्रियाअनुसार पुष्टि हुन्छ भन्ने अपेक्षा राख्दछौं ।’

यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चीनले बाइडेनलाई बधाई नदिनुका कारणको आकलन गर्दै सामग्री प्रकाशित भएका थिए । चिनियाँ भाषाका अधिकांश सञ्चारमाध्यमले बाइडेनले चुनाव जितेको उल्लेख गरेका थिए । साथै उनीहरुले बाइडेनलाई बधाई दिँदा ह्वाइट हाउसबाट बाहिरिनुअघि डोनाल्ड ट्रम्पले चीनविरुद्ध कदम चाल्न सक्ने चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका थिए । फरेन पोलीसी डट कममा प्रकाशित एउटा लेखमा आइक फ्रेम्यानले बेइजिङले बाइडेनलाई बधाई दिन उपयुक्त समय पर्खिरहेको बताएका थिए ।

अहिलेसम्म बाइडेनले २९० इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१७ भोट पाएका छन् । यसअघि ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प विजयी भएको घोषणा गरिएको थियो । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

शनिबार जो बाइडेनलाई आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिदैँछ तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

१५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र १६ इलेक्टोरल भोट रहेको जर्जियामा भने विजेता घोषणा गर्न बाँकी नै छ । नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन् भने जर्जियामा बाइडेन अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे