LISTEN LIVE RADIO

म्यानमारमा सुरक्षाकर्मीको तर्फबाट कम्तीमा ५१ जना बालबालिकाको ज्यान गयो



म्यानमारमा सुरक्षाकर्मीको तर्फबाट कम्तीमा ५१ जना बालबालिकाको ज्यान गयो

काठमाण्डाै ३ बैशाख । म्यानमारमा सुरक्षाकर्मीको तर्फबाट कम्तीमा ५१ जना बालबालिकाको ज्यान गएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परि उनीहरुको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो ।

आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीले गरेको आक्रमणका क्रममा उनीहरूको ज्यान गएको राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले भने । गएको फेब्रुअरी १ देखि अहिलेसम्म म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएकामध्ये कम्तीमा ५१ जना बालबालिका रहेका उनको भनाइ छ । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकालाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले जानकारी दिए ।

हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसङ्घले पटक पटक आग्रह गरे पनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उनले चिन्ता व्यक्त गर्नुभएको छ । पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि चुनाव गराउने बहानामा म्यानमारको सत्ता हातमा लिएको छ । तत्कालीन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो । आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे