राष्ट्रियगान र प्रदेश प्रमुखको पत्र पढेपछि प्रदेशसभा स्थगित, मुख्यमन्त्रीको बिहेपछि निरन्तर छलफल हुने, अर्को बैठकअनिश्चितकालका लागि स्थगित



राष्ट्रियगान र प्रदेश प्रमुखको पत्र पढेपछि प्रदेशसभा स्थगित, मुख्यमन्त्रीको बिहेपछि निरन्तर छलफल हुने, अर्को बैठकअनिश्चितकालका लागि स्थगित

विराटनगर ७ माघ । नेकपा विभाजनपछि बुधबारका लागि आह्वान गरिएको प्रदेश १ को हिउँदे अधिवेशन तीन मिनेट नबसी अनिश्चितकालका लागि स्थगित भएको छ । दोस्रो बैठक कहिले बस्ने भनी सभामुख प्रदीपकुमार भण्डारीले मिति तोकेका छैनन् ।

नेकपा विभाजनपछि बुधबारको बैठकमा दुवै समूह एक अर्कालाई अवरोध गर्ने रणनीतिमा थिए । मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूह मुख्यमन्त्री राईलाई दलको नेताको हैसियतमा बोल्न नदिने पक्षमा थियो ।

ओली समूहले भने मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा उपस्थित हुन नदिने योजनामा थियो । त्यसैले प्रदेशसभामा मुठभेड हुन सक्ने अनुमान पनि गरिएको थियो । तर, बुधबार बिहान सभामुख भण्डारीले राखेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि दुवै समूह नरम भए । दलका नेताले सम्बोधन गर्ने विषयमा टुंगो नलागेपछि सभामुखले प्रदेश प्रमुखले पठाएको पत्र बाचनपछि बैठक स्थगित गर्ने बताए ।

संवैधानिक संकट आउने भएपछि ओली समूहले निलम्बनमा परेका सांसदलाई अवरोध नगर्ने भन्यो । दलका नेताले पनि नबोल्ने सहमति भयो । संविधान अनुसार प्रदेशसभाको दुई अधिवेशनबीचको फरक ६ महिना भन्दा बढी हुनुहुन्न । त्यसैले बुधबार बैठक बस्नैपर्ने थियो ।

प्रदेशसभामा अवरोध हुनसक्ने भएपछि नेकपा प्रचण्ड–माधव समूहका सांसद एकै पटक प्रदेशसभामा प्रवेश गरेका थिए । मुख्यमन्त्री शेरधन राई भने प्रदेशसभा बैठकमा उपस्थित भएनन् । नेकपा विभाजनको असर प्रदेशमा देखिन सक्ने भन्दै संसद  बाहिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सभामुख भण्डारी बैठक कक्षमा प्रवेश गरेको ३ मिनेट बित्न नपाउँदै बैठक स्थगित भएको घोषणा गरे । सभामुखको प्रवेशपछि राष्ट्रिय गान बज्यो, त्यसपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र बाचन भयो । पत्र बाचनपछि सभामुखले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएपछि बैठक स्थगित भयो ।

तोडियो परम्परा

सामान्यतयाः अधिवेशनको सुरुवात र अन्त्यमा दलका नेताले सम्बोधन गर्ने परम्परा पुरानै थियो । तर नेकपा विभाजनपछि आह्वान भएको बैठकमा परम्परा तोडिएको छ । राजनीतिक सहमतिपछि दोस्रो बैठक आह्वान गर्ने र त्यहाँ दलका नेताको सम्बोधन हुनेछ । त्यसपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफलको प्रक्रिया अघि बढ्नेछ ।

मुख्यमन्त्रीको बिहेपछि निरन्तर छलफल

नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले दोस्रो बैठक सभामुखले परामर्शपछि आह्वान गर्ने बताए । उनका अनुसार बैठक माघ १५–१६ गते बोलाइन सक्छ । ११ माघमा मुख्यमन्त्री शेरधन राईले विवाह गर्दैछन् । यही कारण बैठक केही दिन पछि धकेलिन सक्छ ।

प्रमुख सचेतक राजभण्डारीले निलम्बन गरेका सांसदलाई प्रवेश गर्न नपाउने आफ्नो अडान कायम नै रहेको बताए । यद्यपी राजनीतिक रुपमा समस्या सामधानपछि सदन अगाडि बढाउनुपर्छ भन्ने सभामुखको आग्रहलाई स्वीकार गरेको उनले बताए । ‘१६ जनालाई कारवाही गरिएको कुरालाई पछि के गर्न सकिन्छ त्यसको निचोड निस्कन्छ अनि सदन सञ्चालन हुन्छ’ उनले भने ‘अविश्वासको प्रस्ताव टेबल हुन्छ । टेबुलपछि पूर्ण रुपमा असफल हुन्छ ।’

नेकपा प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले पनि सभामुखले बैठकको मिति तोक्ने बताए । अब बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने उनले बताए । संविधानमा एक चौथाइ दलका सदस्यले अविश्वासको प्रस्ताव राखे छलफल गर्नुपर्ने बताउँदै सभामा अनिवार्य रुपमा छलफल हुने बताए ।

उनले अब संसदले अविश्वासको प्रस्तावको छिनोफानो हुने बताए । ‘प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा अब संसदले नै यसको छिनोफानो गर्छ’ उनले भने ‘लोकतान्त्रिक प्रक्रियाद्वारा संसदले दिएको फैसला हामी मान्न तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे