अर्घाखाँचीकाे पाणिनी गाउँपालिका पशुजन्य उत्पादनमा लुम्बिनी प्रदेशकै उत्कृष्ट



अर्घाखाँचीकाे पाणिनी गाउँपालिका पशुजन्य उत्पादनमा लुम्बिनी प्रदेशकै उत्कृष्ट

अर्घाखाँची १० पुस । लुम्बिनी प्रदेशभित्र रहेका पालिकामध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेकोमा अर्घाखाँचीको पाणिनी गाउँ पालिका पुरस्कृत हुने भएको छ । प्रदेशभित्र रहेका १ सय ९ वटा पालिकामध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा पाणिनी गाउँपालिकाले उत्कृष्ट काम गर्न सफल भएको हो ।

गाउँपालिकाका अध्यक्ष अच्युत गौतमल कृषि र पशुपालन विना आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले काम गरेको बताए ।  पाणिनी गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यस वर्ष  कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवाहरुलाई कृषिमा लगाउन झण्डै ३ करोड रुपैयाँ रकम विनियोजन गरिएको गौतमले बताए ।

यस वर्ष गाउँपालिकाले दूधमा प्रति लिटर पाँच रुपैयाँ अनुदान दिने भएको छ । गएको वर्ष दूधमा प्रति लिटर २ रुपैया ५५ पैसाका दरले अनुदान दिएको थियो ।  गाउँपालिकामा १० वटा डेरी र ५ वटा पोल्ट्री फर्म सञ्‍चालनमा छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा अस्ट्रेलियाबाट २५ वटा शतप्रतिशत बोयर जातको बाख्रा ल्याएको थियो । आफ्नाे गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लागिएको अध्यक्ष गौतमले बताए ।

अहिले यहाँ २३ वटा बोयर पाठापाठी  हुर्केका  छन् । बाख्राका पाठापाठी अहिलेलाई पालिकाभन्दा बाहिर बेच्न नपाउने व्यवस्था समेत गरिएको छ । अड्गुरी मैदान र पोखराथोक गरी ३ वटा स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ । बाख्राको  बीमा, दाना औषधि उपचार र खोर निर्माणमा पालिकाले खर्च दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे