LISTEN LIVE RADIO

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि



भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं २५ माघ । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् । प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको भनिएको छ । भट्टको घाँटीमा पनि निलडाम छ । उनको यौनांगमा पनि घाउ रहेको पाइएको एक प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए । शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको उनले जनाए ।

‘हिजोसम्म हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधा थियो, अब जबरजस्तीकरणीपछि हत्या भन्ने निर्क्यौल भयो’, उनले भने । आइतबार बिहानै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन् ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।

लगत्तै तालिम प्राप्त कुकुरलाई घटनास्थल लैजाँदा भट्टको मोबाइल भेटिएको थियो । प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेशकुमार सिंह भन्छन्, ‘प्रहरीले संवेदनशील भएर यो घटनाको अनुसन्धान गरिरहेको छ, चाँडै नतिजा निस्किनेछ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे