‘रेड अलर्ट’ जारी भएका जिल्लामा सकभर रात्रिबस नचलाउन र यात्रा नगर्न सरकारको निर्देशन



‘रेड अलर्ट’ जारी भएका जिल्लामा सकभर रात्रिबस नचलाउन र यात्रा नगर्न सरकारको निर्देशन

काठमाण्डाै २२ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि रातिसम्म उच्च सतर्कता अपनाउन र सकभर यात्रा नगर्न आग्रह गरेको छ ।

आज विशेष सूचना निकालेर प्राधिकरणले मौसम विज्ञान विभागले रेड अलर्ट जारी गरेका जिल्लाहरूमा विभिन्न निकायलाई निर्देशन पनि दिएको छ । रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने व्यवस्था मिलाउन प्राधिकरणले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यस्तै ठूलो पानी पर्ने अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन तथा सुरक्षा निकाय, एम्बुलेन्सलगायतका जरुरी टेलिफोन नम्बरहरू राख्न र आपत् परे तुरुन्तै फोन गर्न तथा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यस्तै ठूलो पानी पर्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने व्यवस्था मिलाउन प्राधिकरणले निर्देशन दिएको छ । यस्तै ठूलो वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहन पनि प्राधिकरणको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे