एमाले सरकारबाट बाहिरियो : आठ मन्त्रीले राजीनामा दिए



एमाले सरकारबाट बाहिरियो : आठ मन्त्रीले राजीनामा दिए

काठमाडौँ १९ असार । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै केहीबेर अघि एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका छन् ।चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारकारुपमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी सहित सरकारबाट बाहिरिएको छ ।

संसद्‌को दोश्रो ठूलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको हो । कांग्रेस र एमालेबीच सोमबार राति आलोपालो सरकारको नतृत्व गर्ने सहमतिसहित गठबन्धन गर्ने सहमति भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि पार्टीबाट मन्त्रीहरुलाई बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेका थिए । लगत्तै मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । वर्तमान सरकारमा एमालेबाट आठ जना मन्त्री थिए ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् । संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत जुटिसकेको भन्दै एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे