LISTEN LIVE RADIO

जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गयो



जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गयो

काठमाण्डाै १८ कार्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ ।

६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी एकसय जनाभन्दा धेरैको ज्यान गएको छ । जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । धेरै घाइते भएका र उद्धारको काम भैरहेको उनले बताए । उनका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको छ । जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको ज्यान गएको छ । यस्तै, रुकुम पश्चिममा भूकम्पबाट २७ जनाको ज्यान गएको छ । १ सय ४२ जनाभन्दा धेरै घाइते भएका छन् । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । जाजरकोट र रुकुम पश्चिमका सयौँ घरगोठ भत्किएका छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले रातिदेखि नै खोज तथा उद्धारको काम भइरहेको जानकारी दिए । अहिले घाइतेहरुलाई अस्पताल पठाउने र प्रभावित क्षेत्रमा प्रहरी तथा स्वास्थ्यकर्मी पठाउने काम पनि भइरहेको उनको भनाइ छ । कतिपय ठाउँमा भूकम्पपछि पहिरो जाँदा सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको छ । सडक पन्छाउने काम भइरहेको डीआईजी ढकालले जानकारी दिए ।

२०७२ सालको विनाशकारी भूकम्पपछि सबैभन्दा धेरै मानवीय क्षति भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे