LISTEN LIVE RADIO

नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ २४ वैशाख । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट रकम असुल्ने गिरोहको ठगी प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।काठमाडौं प्रहरी परिसरबाट भुटानी शरणार्थी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ । सुरुमा यो प्रकरण ठगीको कसुरमा अनुसन्धान अघि बढेकोमा अहिले संगठित अपराधअन्तर्गतका दफाबाट अनुसन्धान थप विस्तार भएको छ ।

यो प्रकरणमा मुछिएका नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीका छोरा सन्दिपसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राईलाई थप ७ दिन थुनामा राख्न अदालतले आइतबार अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भए पनि पूर्वउपप्रधानमन्त्री रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज पनि फरार छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भुटानी नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सबैलाई थप ७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएको बताए । प्रहरीले चैत १२ मा दुलाल, भण्डारी र गुरुङ पक्राउ परेका थिए । त्यसको तीन दिन पछि सागर राई चैत १५ मा पक्राउ परे ।

चैत २९ मा सन्देश शर्मा समातिएका थिए ।उनीहरूकै बयानपछि गएको वैशाख १९ मा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र भोलिपल्ट (२०) गते उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ परेका थिए । त्यही साँझ पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप बुटवलबाट समातिएका थिए । संगठित अपराध कसुरमा ६० दिनभित्र अनुसन्धान टुंग्याएर अभियोजन अदालतमा पेस गरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे