LISTEN LIVE RADIO

आज २५६७औँ बुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम हुँदै



काठमाण्डाै २२ वैशाख । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७औँ बुद्ध जयन्ती , विभिन्न कार्यक्रम गरेर  मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा ईसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाएका थिए । काठमाण्डौको बौद्ध, स्वयम्भू, चाबहिलमा रहेकाे चारुमति विहार लगायत बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायतका ठाउँमा विभिन्न कार्यक्रम हुँदैछ ।बुद्ध जयन्ती अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैबीच आज बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आज विशेष कार्यक्रम हुँदैछ । यसका लागि बुद्ध जन्मस्थल लुम्बिनी रङरोगन र सरसफाइ गरी सिङ्गारिएको छ ।मन्दिर परिसर, अशोक स्तम्भलगायतका क्षेत्र सफा गरेर सुन्दर बनाइएको छ भने मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती जडान गरिएको छ । आज हुने औपचारिक कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानु राजा शाक्यले बताए । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शान्तिदीपमा दीप प्रज्वलन र प्रार्थना गरेर हिजो बेलुका बुद्धजयन्तीको शुभारम्भ गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे