चुनावी तालमेल गर्न दलहरु छलफलमा, नेता कार्यकर्ताले पार्टी फेर्ने क्रम बढ्दो



चुनावी तालमेल गर्न दलहरु छलफलमा, नेता कार्यकर्ताले पार्टी फेर्ने क्रम बढ्दो

काठमाण्डाै ९ चैत । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धन आबद्ध दलले चुनावी तालमेल बारे छलफललाई अगाडि बढाएका छन् ।  चुनावमा मोडालिटी तय गरेर अघि बढ्ने बारे उनीहरु छलफलमा जुटेका छन् । सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीच ६ महानगर र ११ उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्न मोडालिटी बनाउने विषयमा छलफल सुरु भएको हो ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावी तालमेल बारे चाँडै निर्णय लिन प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । तर, देउवाले भने पार्टी भित्र दुई धार रहेकाले केही समय पर्खिन आग्रह गरे । उनले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने र तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताए ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सत्ताबाहिर रहेका राजनीतिक दलसँग तालमेलका लागि छलफल थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली तालमेल बारेको छलफलमा सक्रिय रहेका छन् । एमालेले पोलिटब्युरो बैठकमा तालमेलका लागि ढोका खुलै राख्ने बताएको थियो । राजनीति दलहरु चुनावी अभियानमा केन्द्रित भएसँगै नेता कार्यकर्ताले पार्टी फेर्ने क्रम बढेको छ । नेता कार्यकर्ता फकाउन पार्टीका शीर्ष तह नै सक्रिय बनेको छ । यसले सिद्धान्त र विचार भन्दा पनि व्यक्तिगत स्वार्थका लागि पार्टी परिवर्तन गर्ने प्रवृत्ति बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे