LISTEN LIVE RADIO

बहुमत जुटाउन नसकेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजिनामा



बहुमत जुटाउन नसकेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजिनामा

भालुवाङ २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजनीनामा दिएका हुन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछि विश्वासको मत लिने योजनाबाट पछि हट्दै संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् ।

चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए ।
बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दै उनले प्रदेशको विकास र समृद्धिका लागि अब बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने बताए । चौधरीको राजीनामा संगै नयाँ सरकार गठनको बाटो खुलेको छ । गठबन्धनको भागबण्डामा लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफलमा जुटेको छ ।

माओवादी केन्द्र लुम्बिनीका दल नेता जोखबहादुर महराले भोलि नै शपथ लिने गरी तयारीमा लागेका छन् । यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा करिब तीन महिना अर्थमन्त्री बनेका थिए । नयाँ गठबन्धनले सरकारको नेतृत्वका लागि अन्य साना दलहरुसँगको छलफल गरी भागबण्डा लगाइसकेको स्रोतको दावी छ ।
सत्ता साझेदार दलहरु नेकपा एमाले, माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच लिखित समझदारीपत्र तयार भएको र बिहीबार नै हस्ताक्षर गर्ने स्रोतको भनाइ छ ।

नयाँ सत्ता गठबन्धनको ५ बुँदे समझदारी

यता लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबिच सहमति भएको छ । सत्तासाझेदार दलहरुबिच बिहीबार नयाँ सरकार गठनका लागि साझा ढंगले अगाडि बढ्ने सहमति भएको हो ।

सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । ती दलहरुबीच सरकार सञ्चालनका लागि ५ बुँदे समझदारी समेत बनेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ने.क.पा. (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको दलका नेता जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दैछन् । दलहरुबिच प्रदेशमा हुने राजनीतिक नियुक्तीहरु सत्ता साझेदार दलहरुको अपनत्व हुने गरी गर्ने समझदारी पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे