LISTEN LIVE RADIO

लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको उपचारका क्रममा मृत्यु



लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको उपचारका क्रममा मृत्यु

देउखुरी २६ मंसिर । दाङमा शुक्रबार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ। अर्का गम्भीर घाइते भएका छन् । गढवा गाउँपालिका वडा नं. ३ का १८ वर्षीय मनोज अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ । गढवा ४ का १९ वर्षीय प्रविण कार्की गम्भीर घाइते छन् ।

शुक्रबार दिउँसो लमहीवाट गढवा तर्फ जाँदै गरेको लु ५३ प २१३७ नम्वरको मोटरसाईकल लमही नगरपालिका वडा नं. ५ स्थित कलभर्टमा दिउँसो सवा २ बजे दुर्घटनामा परेको थियो ।

गम्भीर अवस्थामा उद्धार गरेर लमहीको प्रारम्भीक उपचार पछि बाँकेको कोहलपुर रिफर गरिएकोमा उपचारका क्रममा साढे ४ बजे घाइते अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । अर्का घाइते कार्कीको पनि गम्भीर अवस्थामा कोहलपुरमा उपचार भइरहेको डिएसपी खड्काले बताए ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख सई पुरण मल्लका अनुसार उनीहरु दुबै जना प्लस टुमा अध्यनरत विद्यार्थी हुन्। लमहीस्थित रोजीबोर्ड बोर्डिङ स्कूलबाट पढाइ सकेर घर फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेका थिए। मोटरसाईकल कस्ले चलाएको थियो भन्ने अझैं खुलि नसकेको मल्लले बताए ।

तीव्र गतिका कारण सानो कलभर्टमा अनियन्त्रित भइ मोटरसाईकल दूर्घटनामा परेको सई मल्लले  बताए । ‘हामीले उद्धार गर्दा दुबै जना अचेत थिए र उनीहरुको साथवाट सवारी चालक अनुमति पत्र पनि फेला परेन,’ सई मल्लले भने, ‘त्यो मोटरसाईकल पनि अर्कै व्यक्तिको रहेछ। उनीहरुले एक दिनका लागि भनेर मागेर ल्याएका रहेछन्।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे