LISTEN LIVE RADIO

नाग पञ्चमी र यसको महिमा



नाग पञ्चमी र यसको महिमा

नाग देवता प्रशन्न भएमा रोगव्याधी, अनिकाल, अकाल मृत्यु, दैवी प्रकोप र घरमा अनिष्ट आउँदैन् भन्ने मान्यता छ । त्यसैले हाम्रो समाजमा नाग पञ्चमीको दिन प्रत्येक घरमा नागको पूजा गरेर मनाउने चलन रहिआएको हो । यस दिनदेखि नागहरुले आफ्नो स्थान परिवर्तन गर्ने भएकाले नागको बिशेष पूजा गर्ने प्रचलन रहिआएको छ । स्थान परिवर्तन गर्दा मानिसलाई हानीकारक पनि हुनसक्छ । त्यसैले यस्तो प्रथा चल्दै आएको हो ।

सिर्जना थापा (सञ्चारकर्मी)

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नी, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथी र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निणर्य गरिएको हो ।

नाग पूजाको प्रचलन वैदिककाल देखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वणर्न गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नाग कन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ । जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् ।

किन मनाइन्छ त नाग पञ्चमी यस्तो छ, किम्बदन्ती !

नेपालको तराईदेखि हिमाली भेकसम्म हरेक गाउँ-टोलमा यस दिन पण्डितद्वारा रुद्री पाठ गराई नागको पूजनस्थलमा जलधारा सञ्चालन गराएर शिवजीको पूजा-आराधना गर्ने काम हुन्छ । चामलको पिठो र कपासद्वारा निर्मित नाग-नागिनी प्रतिमालाई छुट्टाछुट्टै केराका पातमा विराजमान गराइन्छ । नागपञ्चमीका दिन यस नाग पूजनस्थल मात्र नभएर सबै घरहरु भित्र-बाहिर सरसफाइ गरेर सफा, राम्रो, चोखो र पवित्र पारिन्छ ।

नाग पूजन कार्य सकिएपछि सबैलाई टीका लगाउने काम, कन्याहरुलाई टीका लगाएर दक्षिणा दिने काम, प्रसाद वितरण गर्ने काम, आदि सम्पन्न गरिन्छ । तत्पश्चात् पण्डितद्वारा अभिमन्त्रित नागदेवताका फोटाहरु विधिपूर्वक आ-आफ्ना घरका मूल ढोकामा रीतपूर्वक टाँसेपछि नागपूजासम्बन्धीको सबै कार्य विसर्जन भएको हुन्छ । तर, ब्रत, उपासना गर्नेहरुले भने बेलुका साँझ परेर धूप, दीप, आरती आदि गरेपछि मात्र भोजन ग्रहण गर्ने गर्दछन् ।

नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परिक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूणर् सर्पलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ सुरु गरे ।

यस महायज्ञमा सिद्ध ऋषिमुनी, साधु, पण्डितहरु आमन्त्रण गरियो । उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सर्प त्यही भष्म हुन्छ । तर स्वर्गमा ईन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा ईन्द्रसहित जन्मजयसम्म आइपुग्दछन् । यो देखेर सबै छक्क पर्छन् ।

तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफी मागेपछि उनले यज्ञ स्थगन गर्छन् । यज्ञमा होमिएका सम्पूणर् सर्पले पुनर्जीवन पाउँछन् । भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको शैयमा फणको छातामुनि शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।

नाग देवता प्रशन्न भएमा रोगव्याधी, अनिकाल, अकाल मृत्यु, दैवी प्रकोप र घरमा अनिष्ट आउँदैन् भन्ने मान्यता छ । त्यसैले हाम्रो समाजमा नाग पञ्चमीको दिन प्रत्येक घरमा नागको पूजा गरेर मनाउने चलन रहिआएको हो । यस दिनदेखि नागहरुले आफ्नो स्थान परिवर्तन गर्ने भएकाले नागको बिशेष पूजा गर्ने प्रचलन रहिआएको छ । स्थान परिवर्तन गर्दा मानिसलाई हानीकारक पनि हुनसक्छ । त्यसैले यस्तो प्रथा चल्दै आएको हो ।

यस दिन कल्की अवतार भगवानको जयन्ती पनि मनाउने गरिन्छ । उक्त दिन काठमाडौंको चोभारस्थित नागदहमा मेला लाग्दछ । उक्त दिन टौदहका नाग पनौतीमा जान्छन् र पनौतिका नाग टौदहमा जान्छन् भन्ने बुढापाकाको कथन छ । टौदहमा नागको पूजा गर्नको लागि थुप्रै श्रद्धालु भक्तजन उपस्थित भएर नाग पञ्चमी मनाउँछन् । यिनै कारणले गर्दा नाग पञ्चमीलाई समस्त धर्मालम्बीले श्रद्धा, भक्तिपूर्वक मनाउने गर्दछन् ।

नागको पूजा अरु महिनामा पर्ने पञ्चमीमा पनि गरिन्छ । तर वार्षिक रुपमा नाग देवतालाई पुजा गर्ने पर्व श्रावण शुक्ल नाग पञ्चमी नै हो । शिवप्रीय तिथि पञ्चमी भएकोले उक्त दिन नाग देवताको पनि प्रिय दिन नै मानेर पूजा गरिएको हो । नाग देवताको पूजा गर्दा शिव तथा विष्णु खुशी रहने भएकोले नागको पूजा गरिएको हो ।

यो दिन कसै-कसैले घरमा रुद्री लगाएर शिवको आराधना गरेर नाग देवतालाई प्रशन्न गराउँछन् । ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा बिधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ । यो धार्मिक विधी विधान कुनै आडम्बर होइन । अन्धविश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।

यसैले सर्प रहेमात्र हामी मान्छे जीवित र स्वस्थ रहन सक्छौं । मान्छे मात्र होइन, चराचर जगतको सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो । कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

नाग पूजनको सर्वव्यापकताका सम्बन्धमा अध्ययन गर्ने हो भनें संसारका विकशित अल्पविकशित वा विकासशिल सबै देशका नागरिकहरु नागको पूजा गर्ने गर्दछन, अमेरीकाका आदिवासीलगायत सबै समुदायमा नागप्रति श्रद्धा गर्ने परम्परा रहि आएको छ भनें जापानका राजवंश आफूलाई नागवंशी मान्दछन ।

वैदेशिक सभ्यताका आदिस्रोत युनान ,ईजिप्ट आदि देशहरुका धार्मिक स्थलहरुमा आज पनि सर्प पाल्ने प्रचलन रही आएको छ । चीनमा आज पनि प्राचीन नाग मन्दिरहरु देख्न सकिन्छ । अष्ट्रेलिया, नर्वे जस्ता देशहरुमा पनि केही समय पहिलेसम्म नागपूजा गर्ने चलन थियो । भारत नेपाल भुटान म्यान्मार जस्ता देशहरुमा अहिले पनि सर्पपूजा हुँदै आएको छ ।

भारतमा शासन गर्न आएका सिकन्दर महान आफूलाई नागवंशी मान्दथे यसर्थ उनी भारत प्रवेश गर्नासाथ सर्वप्रथम सर्प मार्न रोक लगाएका थिए भन्ने ईतिहास पाइन्छ । भारतका हरेक मन्दिरमा कुनै न कुनै प्रकारले नागका मूर्तिहरु स्थापना गरिएका हुन्छन । प्राचीन कालमा ज्ञानको खानी भनेर चिनिने प्रसिद्ध स्थल कश्मिरलाई नागस्थलका रुपमा मानिन्छ । अनन्त नाग भन्ने स्थान सो भूमिलाई नागभूमि थियो भन्ने कुराको ज्वलन्त प्रमाण मान्न सकिन्छ ।

नेपालमा पनि नागपूजाको प्राचीन परम्परा रहेको पाईन्छ र विभिन्न स्थानहरुलाई नागका लागि समर्पण गरिएको प्रत्यक्ष प्रमाणहरु नागढुंगा, नागपोखरी, नागदह जस्ता नामाकरण गरिएका स्थानहरुले पुष्टि गर्दछन । पूर्वीय सभ्यतामा नागलाई लोकदेवताका रुपमा स्थापना र पूजा गर्ने गरिन्छ ।

यस दिन नाग देवताको पूजन गर्नाले सबै खालका दुःख र रोग व्याधिहरु नष्ट भएर जान्छन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ । नागपंचमी आफैंमा एक महत्वपुणर् पर्व हो यसको उपासना र पुजाले मानिसमा शान्ति, समृद्धिजस्ता कुराहरु सहजै उपलब्ध हुन्छन् भनि पुराणहरुमा उल्लेख गरिएको छ ।

यस पटकको नागपंचमी सन् १९८० पछिको सबैभन्दा महत्वपुणर् बन्ने ज्योतिषीहरुले बताएका छन् । यस दिन चित्रा नक्षत्र, शुभ योग एवम कन्या राशिमा चन्द्रमा रहने भएको छ। साथै सूर्य, राहु, र बुधले कर्कट राशिमा प्रवेश गर्नेछन् । यस दिन विशेष विधि अपनाएर उपासना गरियो भने तपाईं सर्पदोषबाट मुक्त हुन सक्नुहुने छ ।

सबैभन्दा पहिले नागपंचीको दिन सर्पलाई देवता को रूपमा पूजा गर्नुपर्दछ भन्ने कुराको जानकारी तपाईंलाई हुनुपर्छ । यस दिन गरिने पुजा एक विशेष प्रकारको हुन्छ । पुजा गर्नुभन्दा पहिले बिहानै उठेर प्रातः कालीन शौचादिक्रिया गरि, पवित्र भई, सुन, चाँदी अथवा तामाद्वारा निर्मित नाग र नागिनको प्रतिमालाई पंचोपचार अथवा शोडषोपचारले पूजन गरि उपासना गर्नु पर्दछ

अन्तत : वर्ष दिनको एक पटक घरघरमा नागको चित्र टाँसेर होस् या नाग अंकित शीलामा पूजाआजा गरेर होस् नागपञ्चमी मनाइने गरिन्छ । कलश, दही, दूबो, कुश, सिन्दूर, ध्वजा, गन्धादिले मूलद्वारमा नागको पूजाअर्चना गरिन्छ । तेसका साथै नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेकाले यस नाग पन्चमी विशेष दिनमा नागको फोटो टास्नु पर्छ भन्ने धार्मिक आस्था र विश्वास समेत रहि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे