LISTEN LIVE RADIO

देउखुरी सहकारी संस्था बिभाजनको माग गर्दै प्रदेशसभा मुल गेट अगाडी शान्तिपुर्ण प्रदर्शन



देउखुरी सहकारी संस्था बिभाजनको माग गर्दै प्रदेशसभा मुल गेट अगाडी शान्तिपुर्ण प्रदर्शन

भालुवाङ १४ साउन । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको बिभाजनको माग गर्दै साविकका हरियाली, बिहानी र जनजिविका सहकारीका सञ्चालक, सेयर सदस्यहरूले शान्तिपुर्ण प्रदर्शन गरेका छन् । केही बर्ष पहिले दाङ-देउखुरीको राप्ती गाउँपालिकामा रहेका हरियाली, बिहानी, महाप्रभु र जनजिविका बचत तथा ऋण सहकारी संस्थाहरू मर्ज भएर बनेको देउखुरी बचत तथा ऋण संस्था बिभाजन हुनपर्ने माग गर्दै सेयर सदस्यहरुले शान्तिपुर्ण प्रदर्शन गरेका हुन् ।

एकता प्रक्रिया मै रहेको साविक महाप्रभु सहकारीमा ५ करोड बढी रकम हिनामिना भएको तथ्य फेला परेपछि अहिले सम्म एकिकरण प्रक्रिया पुरा हुन सकेको छैन । एकता प्रक्रिया पुरा नहुँदै बिभाजन हुनुपर्ने निणर्य समेत गरिसकेका सहकारीका सञ्चालकहरु बीच बिबाद भएपछि बिभाजन प्रक्रिया समेत अबरुद्ध हुन पुगेको् छ ।

यता सेयर सदस्यहरुबाट समेत सहकारी संस्था विभाजन हुनुपर्ने माग ब्यापाक उठ्न थालेको छ । हाल उक्त सहकारी रकम हिनामिना सम्बन्धी मुद्दा दाङ-देउखुरी जिल्ला अदालतमा बिचारधिन अवस्थामा रहेको छ । यता एकता भएको ३० महिना सम्म देउखुरी बचत तथा ऋण सहकारी संस्थाको न त लेखापरिक्षण हुन सकेको छ न त साधारणसभा नै हुन सकेको छ ।

जसले गर्दा देउखुरी सहकारीको सम्पूणर् कारोबार प्रभावित भएको छ । केही समय पहिले साविकका चार वटै सहकारीका संञ्चालकहरू बिभाजनमा जाने सहमति भएको थियो तर पछिल्लो समय महाप्रभु बिभाजनमा बाधक बनेपछि सहकारी संस्था दर्ता अधिकारीको कार्यालयले बिभाजन गर्न अस्बीकार गरेको छ ।

लामो समय सम्म पनि सहकारी बिभाजन गर्न सहकारी दर्ता अधिकारी कार्यालयले अस्बीकार गरेपछि साविकका हरियाली, बिहानी र जनजिविका सहकारीका सञ्चालक, सेयर सदस्यहरूले सहकारी दर्ता अधिकारीको कार्यालय र प्रदेशसभा मुल गेट अगाडी शान्तिपुर्ण प्रदर्शन गरेका हुन् । उनीहरूले कुनैपनि हालतमा बिभाजन हुनुपर्ने माग गरेका छन् ।

यता देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा साविक हरियाली साकोसका अध्यक्ष समेत रहनु भएका शिबध्वज मल्लले पछिल्लो समय सहकारी बिभाजनमा साविक महाप्रभु साकोस बाधक बनेको आरोप लगाएका छन् । उनले पहिले बिभाजन गर्न सहमति जनाएको महाप्रभुले सहकारी दर्ता अधिकारीको कार्यालयमा पुगेर बिभिन्न बखेडा झिकेर बिभाजन प्रक्रिया रोकेको आरोप लगाए ।

यता साविक महाप्रभु साकोसका सचिव हरिप्रसाद भुसालले एकिकृत देउखुरी साकोसको लेखापरिक्षण र साधारणसभा समेत नगराई विभाजन गर्न नसकिने बताए । देउखुरी साकोसको सचिव समेत रहनु भएका भुसालले एकता भएको यतिका लामो समय सम्म पनि अध्यक्षले लेखा परिक्षण र साधारणसभा गराउन छोडेर विभिाजनमा जानु गलत भएको आरोप लगाए । उनले खारेज भइसकेका हरियाली र बिहानीले पुरानै नामबाट कारोबार गर्ने देखि भित्तेपात्रो प्रकाशन गर्ने सम्मका गलत हर्कत गरेको भन्दै यथास्थतिमै कुनैपनि हालतमा विभाजनमा सहमत हुन नसक्ने बताए ।

यता सहकारी दर्ता अधिकारीको कार्यालयमा रजिष्टार भिमप्रसाद तिवारीले सहकारी संस्थालाई विभाजन गर्न आफू तयार रहेको भएपनि सहकारीका संञ्चालकहरु बीच नै बिबाद भएका कारण बिभाजन प्रकृया अगाडी नबढेको बताए । उनले सहकारीका संञ्चालकहरु बीच नै बिबाद बढेपछि सहकारी ऐन अनुसार विभिाजनका बिषयमा सहकारी मन्त्रालय संग राय माग्दा अदालतमा मुद्धा रहेको अवस्थामा विभिाजन नगर्नु भनि लिखित निर्देशन प्राप्त भएकोले समेत आफूले चाहेर पनि विभिाजन गर्न असमर्थ भएको बताए ।

यस्तै प्रदर्शनरत पक्ष संग छलफल गर्दै लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले देउखुरी साकोस भित्रको समस्यालाई आफूले गम्भीरता पूर्व लिएको बताउँदै ढिलामा एक महिना भित्र समस्या हल गर्ने प्रतिबद्धता जनाएका छन् । उहाँले चरणमा साउन १७ गते नै साविक चार वटै सहकारी संस्थाका सञ्चालकहरुलाई बोलाएर छलफल गर्ने र त्यहाँबाट समेत के निष्कर्ष निस्कन्छ सोही अनुसार कदम चाल्ने बताए ।

प्रदर्शन कार्यक्रममा साविक हरियाली र बिहानी साकोसको सञ्चालक सेयर सदस्यहरु गरी सयौँको सहभागिता रहेको भएता पनि महाप्रभु र जनजिवीका साकोसका सञ्चालक सेयर सदस्यहरुको भने सहभागिता रहेको थिएन । प्रदर्शनकर्ताहरुले तत्काल सहकारी संस्था विभाजन गर, एउटा संस्थाले भष्ट्रचार गरी आर्को संस्थालाई थुपार्ने प्रबृति बन्द गर, एकिकरण प्रकृया खारेज गरी सदस्यहरु न्याय दे र चार वटै संस्थाका समितीले गरेका निणर्य तत्काल कार्यान्वयन गर जस्ता लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

बिबादको मुख्य जड :

सहकारी संस्थाहरु एकिकरण भई संयुक्त रुपमा कारोबार शुरु गर्ने क्रममा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थामा ५ करोड बढी हिनामिना भएको तथ्य फेला पर्यो । संस्था एकिकरण पश्चात कारोबार भएको साढे २ महिनापछि नयाँ सफ्टवेरमा डाटा स्थानान्तरण गर्ने क्रममा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख २३ हजार ७ सय ३७ रुपैयाँ रकम हिनामिना भएको तथ्य फेला पर्यो ।

त्यसपछि हौसिएर एकता गरेका चार वटै सहकारी संस्थाका संञ्चालकहरु तर्सिए । उक्त ५ करोड बढी रकम साविक महाप्रभु सहकारी संस्थाका कर्मचारी विक्रम रानाले हिनामिना गरेको पुष्टि भयो । त्यसपछि बिक्रम सहितका केही कर्मचारीहरु माथि मुद्दा दर्ता समेत भयो ।

आरोपितहरुले केही सञ्चालक समितिले पनि रकम हिनामिना गरेको प्रहरीलाई बयान दिएपछि अनुसन्धानका क्रममा साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, सदस्य तथा उपसमिति र पूर्व अध्यक्षहरु समेत उक्त मुद्दामा तानिएका छन् । हाल उक्त सहकारीको रकम हिनामिना मुद्दा दाङ-देउखुरी जिल्ला अदालतमा बिचारधिन अवस्थामा रहेको छ भने एक जना मुख्य अभियुक्त पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

यसरी एकिकरण भएका थिए चार सहकारी :

दाङ—देउखुरीको राप्ती गाउँपालिकामा रहेको दुई ठुला सहित चार वटा बचत तथा ऋण सहकारी संस्थाहरु राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर २ लालमटियामा रहेको महाप्रभु बचत तथा ऋण सहकारी संस्था सँगै वडा नम्बर १ पाखापानीमा रहेको जनजीविका, वडा नम्बर ५ सिसहनियाँमा रहेको विहानी बचत तथा ऋण सहकारी संस्था एकिकरण भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) द्धारा सञ्चालित प्रोवेशन कार्यक्रममा आवद्ध भई दुई पटक सम्म उत्कृष्ट संस्थागत तथा वित्तीय सुशासनका लागि प्रदान गरिने गुणस्तर चिन्ह (प्रोवेशन ब्राण्ड) प्राप्त गरिसकेका २ ठुला सहकारी संस्थाहरु राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर २ लालमटियामा रहेको महाप्रभु बचत तथा ऋण सहकारी संस्था सँगै वडा नम्बर १ पाखापानीमा रहेको जनजीविका, वडा नम्बर ५ सिसहनियाँमा रहेको विहानी बचत तथा ऋण सहकारी संस्थाहरु २०७७ पुस २७ गते एकिकरण भएका थिए ।

नेफ्स्कुनकै अगुवाईमा ती २ वटा ब्राण्डेड ठुला सहकारी संस्थाहरुको पहलमा अन्य २ सहकारी संस्थाहरु पनि सहभागी भई एकिकरण कार्यविधि २०७४ को सम्पूणर् प्रक्रिया पुरा गरी २०७७ पुस २७ गते तत्कालित लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ती ४ वटै सहकारी संस्थाहरु खारेज गरी नयाँ एकिकृत संस्था देउखुरी बचत तथा ऋण सहकारी संस्था दर्ता भई काम सुरु गरेको र २०७७ माघ १४ गते तत्कालिन लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलबाट संस्था एकिकरणको घोषणा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे