LISTEN LIVE RADIO

मेहेन्दी र हरियो चुरा फेसन कि संस्कृति ?



मेहेन्दी र हरियो चुरा फेसन कि संस्कृति ?
साउन महिनामा हरियो चुरा, पोते लगाउने प्रचलन फेसनको रुपमा विकास भइरहेको छ । विवाहिता, अविवाहिता मात्र हैन, बच्चादेखि वृद्धासम्म हातभरि हरियो चुरा लगाउने फेसन बनेको छ । कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो रंगको चुरा लगाउने फेसन चलेको छ । उनीहरुमध्ये धेरैलाई हरियो चुरा र मेहेन्दी लगाउनुको धार्मिक एवं सांस्कृतिक महत्व नै थाहा छैन ।

बुटवलकी दिव्या पाण्डेले साउन लागेसँगै दुवै हातमा हरियो चुरा लगाइन् । बुटवलको कान्ति स्कुलमा पढ्ने छात्रा अन्जना श्रेष्ठले पनि हातमा मेहन्दी लगाएर सजिइन् । एक ब्यूटीहोममा भेटिएकी दिव्याले चुरा र मेहन्दी लगाउँदा यही हुन्छ भन्ने थाहा नभएको बताइन् । यसमा अन्जनाको पनि आफ्नै तर्क छ, ‘चुरा लगाउन साउन कुर्नुपर्छ र चुरा र मेहेन्दी लगाउने रहर साउन आएपछि बल्ल पूरा हुन्छ ।’

स–साना बालिका, युवती, अधबैंसे नारी हुन् वा वृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ ।

पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनका रुपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिइन्छ ।

झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । यो समयलाई किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउने ‘पपुलर कल्चर’ को रूपमा परिचित गराएका छन् । आयातित मानिएको यो भारतीय संस्कृतिमा मेहन्दी र हरियो चुरीलाई प्रेम र सुहागको प्रतीक मानिन्छ । अचेल यो संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ । साउन महिनाभरी मेहन्दीले हत्केला र हरियो चुरीले नाडी सजाउनु अब फेसन बन्दै गएको छ ।

यसले विस्तारै परम्परा र सँस्कृतिको रुप ग्रहण गर्दै गइहेको छ । धार्मिक संस्कृति भन्दा पनि देखासिकी र फेशनको रुपमा मौलाउँदै गएको साउन महिनामा हरियो चुरा, मेहन्दी र हरिया वस्त्र लगाउने प्रचलन भने निकै बढेको छ ।

साउन महिना सुरु भएसँगै हरियो चुरा पोते किन्ने र मेहेन्दी लगाउने महिलाको बजारमा चहलपहल पनि बढेको पाईन्छ । पछिल्लो फेसनका रुपमा साउने पहिरन नै हरियो लगाउने प्रचलन बढ्दो छ ।

नेपाली संस्कृति अनुसार हिन्दू धर्मावलम्बीमा महिलाले चुरा लगाउनुलाई विवाहिता भएको संकेत दिन्छ । नयाँ पुस्तालाई न चुराको इतिहाससँग मतलब छ । न धर्म संस्कृतिको बारे थाहा छ । तर पछिल्लो समयमा फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडि धार्मिक महत्वसँगै संरक्षण पनि जोडिएको मानिन्छ ।

केही दशक अगाडिसम्म भने साउन महिनामा ब्रत बसे पनि, हरियो चुरा तथा मेहन्दी लगाउने प्रचलन नभएको बुटवल १२ बस्ने ६८ वर्षीय मायादेवी गौतम बताउँछिन् । ‘पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । आँगन र बारी जताततै पाइने तिउरी फूलहरुको पात हत्केलामा लगाउँथ्यौ’, गौतमले भनिन् । अहिले पनि कतिपय ग्रामीण भेगका महिलाहरुले साउन महिनालाई खासै महत्वका साथ लिने गरेको पाइँदैन तर शहरी भगेहरुमा भने फेशनका रुपमा यो क्रम दिनप्रतिदिन बढ्दो छ ।

साउन महिना सुरु भएसँगै हातभरि विभिन्न आकृतिको मेहेन्दी दुवै हातमा हरियो चुरा, अनि हरियो पहिरनमा देखिनेहरुको संख्य रुपन्देहीमा पनि ह्वात्तै बढेको छ । ‘अरु बेला सबैले जिस्काउँछन् हिन्दू धर्म अनुसार विवाहितले मात्रै चुरा लगाउँछन भन्ने मन्यता छ तर साउन महिनामा चुरा लगाए फेसन हुन्छ’ कान्ति स्कुलमा पढ्ने छात्रा अन्जना भन्छिन् । संंस्कृति धान्ने चलन होस् वा फेसनको बहाना बेलाबेलामा आउने नयाँपनलाई नयाँ पुस्ताले जिन्दगी रमाइलो पनको रुपमा ग्रहण गरिरहेका छन् ।

बुटवल अमरपथमा रहेको श्रृङगार कस्मेटिक पसलकी रविना खातुनले खुसी हुदै भन्छिन्, ‘व्यापार भव्य भएको छ । साउन महिनामा अरु महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुन्छ । ‘यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याईं नै गर्दैनन्, जति भन्यो त्यति नै तिरेर सामान लग्छन् । अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन ।’ उनका अनुसार अरुबेला दैनिक दैनिक ८÷१० हजार रुपैयाँको श्रृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहेन्दी, पोते र चुरामात्र दैनिक २०÷३० हजारसम्म व्यापार गरेको बताईन् ।

साउन महिनाका लागि असारको पहिलो सातादेखि नै सामान सङ्कलन गर्नुपर्ने रविनाले बताइन् । ‘असार शुरु भएसँगै साउनका लागि सामानको जोहो गर्न सके राम्रै व्यापारसँगै कमाइ पनि राम्रो हुन्छ’, उनले भनिन् । साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेको छ । सबैले नाडीभरि चुरा र हातभरि मेहेन्दी लगाएको देखेपछि नलगाउनेहरुले पनि अरुको सिको गर्दै चुरा र मेहेन्दी लगाएर जान्छन ।

साउन महिनामा हरियो चुरा, पोते लगाउने प्रचलन फेसनको रुपमा विकास भइरहेको छ । विवाहिता, अविवाहिता मात्र हैन, बच्चादेखि वृद्धासम्म हातभरि हरियो चुरा लगाउने फेसन बनेको छ । कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो रंगको चुरा लगाउने फेसन चलेको छ । उनीहरुमध्ये धेरैलाई हरियो चुरा र मेहेन्दी लगाउनुको धार्मिक एवं सांस्कृतिक महत्व नै थाहा छैन । दुई चार वर्ष अघिसम्म बुटवलका फुटपाथमा विशेष गरी मधेसी मूलका व्यक्ति र भारतीयहरुले चुरा बेच्दै र मेहेन्दी लगाइदिँदै गरेको दृश्य छ्याप्छ्याप्ती देखिन्थ्यो तर अहिले बिस्तारै त्यो भीड ब्यूटिपार्लर र कस्मेटिक पसलमा सरेको छ ।

के छ पौराणिक मान्यता ?

पौराणिक मान्यता अनुसार साउन महिना शिवको प्रिय महिनाका रुपमा लिइन्छ । शिव हरियो प्रकुतिमै रमाउने र साउनमा हरियो पहिरंदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ सौभाग्यको प्रतीक हो । हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतीकको रुपमा मानिन्छ ।

साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो । शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढने धार्मिक विश्वास छ । संस्कृतिविदहरुका अनुसार हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ ।

बुटवल टुडेबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे