राप्तीमा जेठ २५ गते देखि ३० गते सम्म दादुरा रुवेला खोप सञ्चालन गरिदै



भालुवाङ २२ जेठ । दाङको राप्ती गाउँपालिकामा यहि जेठ २५ गते देखि ३० गते दादुरा रुवेला खोप सञ्चालन हुने भएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सोमबार मसुरीयामा आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरू सँगको अभिमुखिकरण तथा समन्वय बैठकमा सो कार्यक्रमका विषयमा जानकारी गराइएको छ ।

जन्मेको ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई राप्ती गाउँपालिकाको ४८ वटा खोप केन्द्रबाट दादुरा रुवेला खोप लगाउने कार्यक्रम रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । करिव १३ हजार ८ सय ४० जना बालबालिकालाई खोप लगाउने रहेको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

अहिले देशका विभिन्न जिल्लाहरुमा जस्तै दाङ जिल्लामा पनि दादुरा महामारी देखिएको छ। दादुरा रोग निकै छिटो सर्ने सरूवा रोग भएकोले यो रोग अत्यन्त संक्रामक रहेको र विषेश गरि ५ वर्ष मुनिका बालबालिकालाई यो र‍ोग छिटो सर्ने जोखिम भएको र यसले निमोनिया, झाडापखाला, कुपोषण जस्ता कारणले विरामीको ज्यान समेत जान सक्ने भएकोले सो जोखिम न्युनिकरण गर्न खोप कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नु परेको कमल चन्दले जानकारी दिएका छन् ।

साथै महामारी अन्य जिल्लामा पनि फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले ९ वटा जिल्लामा ६ महिना देखि १५ वर्ष उमेर मुनिका सम्पूर्ण बालबालिकालाई दादुरा-रुबेला खोप लगाउन थालेको चन्दले बताए ।

नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिती र खोप केन्द्रबारे जानकारी लिई आफ्ना बालबालिकालाई खोप लगाउन हुन समेत चन्दले सवैमा अनुरोध गरेका छन् । दादुरा कोभिड – १९ भन्दा पनि तिब्र गतिले फैलन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई सार्न सक्ने भएकोले सम्पुर्ण अभिभावकहरूलाई दादुरा रूवेला खोप लगाउन चन्दले आग्रह गरेका छन् ।

दादुराको भाईरस मानिसबाट मानिसमा मात्र सर्ने भएकोले भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रही बृद्धि हुने र श्वास नलि एवं अरु भित्री अंगहरूमा संक्रमण गर्ने चन्दले बताए । दादुरा रोग संक्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा, हाँछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने चन्दले बताए ।

ज्वरो आउनु र शरीरमा राताविमीरा देखा पर्नु दादुरा रोगका प्रमुख चिन्ह / लक्षण हुन् । यसको साथै रुघाखोकीको लक्षण चिन्हहरू (नाकबाट पानी वग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता) पनि देखिन सक्छन्। रोगीको सम्र्पकमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ । दादुरा संक्रमित व्यक्तिलाई डावर र विमिरा देखा पर्नु भन्दा ४ दिन अगाडी देखि र डाबर देखा परेको ४ दिन पछि सम्म अर्को व्यक्तिमा सर्ने चन्दले बताए ।

दादुरा रोग लागेपछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु, बिरामीलाई “भिटामिन ए ” अनिवार्य रुपमा खुवाउनु, दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा विरुद्धको खोप लिनु रहेको चन्दले बताए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख, कर्मचारी, विभिन्न संघसंस्थाका प्रमुख र सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे