LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशसभामा सांसद देखि मुख्यमन्त्रीले के–के सुविधा पाउँछन् ?



भालुवाङ ८ माघ । आफूले जिताएका जनप्रतिनिधिहरुले के-कस्तो सुविधा लिएका हुन्छन् ? भन्ने बारेमा धेरैलाई जानकारी समेत हुदैन । तर, जनताबाट निर्वाचित भएका प्रतिनिधिहरुले सुविधै सुविधा पाउने गरेका छन् । अब चर्चा गरौँ लुम्बिनी प्रदेशका सांसद देखि मुख्यमन्त्री सम्मले के-कस्ता सुविधा पाउँछन् त ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार मुख्यमन्त्री, मन्त्री र राज्य मन्त्रीहरुले विभिन्न ११ वटा शिर्षकबाट सुविधा पाउँछन् । मुख्यमन्त्रीले ६० हजार ९७० मासिक पारिश्रमिक बापत रकम पाउँछन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले मासिक २४० लिटर पेट्रोल र दैनिक भ्रमण भत्ता (स्वदेश) प्रतिदिनको २ हजार ५०० तथा विदेश भ्रमण भत्ता बापत दैनिक २२५ अमेरिकी डलर पाउँछन् । साथै अतिथि सत्कारका लागि मुख्यमन्त्रीले मासिक १५ हजार रुपैयाँ प्राप्त गर्दछन् ।

यस्तै लुम्बिनी प्रदेश सरकारका मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४९ हजार र सहायक मन्त्रीले ४८ हजार १०० रुपैयाँ मासिक पारिश्रमिक पाउँछन् । यस्तै मन्त्रीले आवास सुविधा अन्तर्गत मासिक ३० हजार, राज्यमन्त्री र सहायक मन्त्रीले २५ हजार पाउँछन् ।

राज्यमन्त्री र सहायक मन्त्रीले सरकारी घरको बन्दोबस्त नभएरमा फर्निचरको व्यवस्थापनका लागि ७५ हजार रुपैयाँ, मन्त्री, राज्यमन्त्री र सायहक मन्त्रीले १/१ वटा सवारी साधन पाउनुका साथै मासिक २०० लिटर पेट्रोल र १० लिटर मोबिल पाउँछन् । मन्त्रीले टेलिफोन इन्टरनेट र पत्रपत्रिकाको लागि मासिक ३ हजार पाउँछन् भने राज्य मन्त्री र सहायक मन्त्री २ हजार पाउने व्यवस्था छ ।

यस्तै मन्त्रीले धारा र विजुलीको शुल्क बिल अनुसार तथा राज्यमन्त्री र सहायक मन्त्रीले मासिक २ हजार रुपैयाँ पाउँछन् । मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दैनिक तथा भ्रमण भत्ता (स्वदेश) प्रतिदिनको २ हजार तथा विदेश भ्रमण भत्ता बापत दैनिक २२५ अमेरिकी डलर पाउँछन् । साथै अतिथि सत्कारका लागि मन्त्रीले मासिक १५ हजार रुपैयाँ र राज्यमन्त्री र सहायक मन्त्रीले मासिक ५ हजार प्राप्त गर्दछन् ।

यस्तै सभामुखको मासिक पारिश्रमिक ५३ हजार, उपसभामुख र विपक्षी दलको नेताको ५० हजार, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितीका सभापति र दलको प्रमुख सचेतकले ४८ हजार रुपैयाँ पाउँछन् भने प्रदेशसभा सदस्यले ४५ हजार रुपैयाँ पाउँछन् ।

प्रदेशसभा सदस्यदेखि सभामुखले प्रति बैठक भत्ता १ हजार पाउने व्यस्था रहेको छ । आवसा सुविधा अन्तर्गत विपक्षी दलको नेता मासिक २५ हजार, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितीका सभापति, दलको प्रमुख सचेतक र प्रदेशसभा सदस्यले मासिक १७ हजार रुपैयाँ पाउँछन् । यस्तै सरकारी घरको बन्दोबस्त नभएमा फर्निचरको लागि ४५ हजार पाउँछन् ।

सभामुखलाई मासिक २४० लिटर पेट्रोल, उपसभामुख र विपक्षी दलको नेताले २०० लिटर, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितीका सभापति, दलको प्रमुख सचेतकलाई १५० लिटर पेट्रोल र मोविल १० लिटर पाउँछन् भने प्रदेशसभा सदस्यले बैठकको दिन यातायात खर्च बापत ५०० प्राप्त गर्दछन् ।

साथै सत्ता पक्षको सचेतक र दलको प्रमुख सचेतकले यातायात खर्च वापत मासिक १५ हजार पाउँछन् । विजुली धारा वापत सभामुख र उपसभामुले विल अनुसार र विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले मासिक १५ सय पाउँछन् । संचार सुविधा अन्तर्गत सभामुखले विल अनुसार र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले मासिक २ हजार प्राप्त गर्छन् ।

आन्तरिक भ्रमण खर्च बाफत सभामुखले २ हजार ५०० र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले दैनिक २ हजार पाउँछन् भने वैदेशिक भ्रमण खर्च वापत सभामुखले २२५ अमेरिकी डलर र उपसभामुख, विपक्षी दलको नेताले दैनिक १७५ अमेरिकी डलर प्राप्त गर्छन् ।

-गाेलाेबल आवाज डटकमबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे