LISTEN LIVE RADIO

गढवामा सहकारी नियमन गर्न कानुन बन्दै



गढवा २९ पुस । गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप सहकारी संस्थाहरु संचालन गर्न र लगानी डुब्न नदिन सहकारी संस्थाहरु चनाखो हुनुपर्ने बताएकी छिन् ।

सहकारी संस्थाहरुलाई नियमन गर्न गाउँपालिकामा सहकारी शाखाको समेत ब्यवस्थापन गरिसकेको उनले बताइन् । गढवा गाउँपालिका क्षेत्रको पुरानो तथा महिलाहरुले मात्र सञ्चालन गरेको चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष चौधरीले यस्तो बताएकी हुन् ।

कार्यक्रममा बोल्दै पालिका स्तरमा रहेका सहकारी संस्थाहरुका गतिबिधि सुक्ष्म रुपले नियाल्न र सहकारीहरुलाई निति नियम र मुल्यमान्यताको परिधि भित्र थप ब्यवस्थित ढंगले सञ्चालन तथा नियमन गर्न गढवा गाउँपालिकाले आगामी हिउँदे सभाको अधिवेशन मार्फत बिधेयक ल्याई कानून निर्माण गर्ने तयारीमा रहेको समितिका संयोजक तथा गढवा ५ का वडा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए ।

सो अवसरमा गढवा गाउँपिालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेले गढवा क्षेत्रमा एकाध सहकारीहरुले ब्यवसायिहरुलाई निकै संकटमा पारेर पलायन भैरहेको हुदा चनाखो ढंगले सहकारी चलाउन आव्हान गरे । महिलाहरुमा इमान्दारिता र लगानशिलता हुने भएकोले चेतनशिल सहकारी अब्बल बन्न सकेको उनले बताए ।

कार्यक्रममा नवस्वर्गद्धारी महिला सहकारी संस्थाका अध्यक्ष रेखा थापा, गढवा उद्योग बाणिज्य संघका सचिव मधा न्यौपाने, गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा, दलित शसक्तिकरणका कोषाध्यक्ष जया बिश्वकर्मा, पत्रकार शिबराज पन्थी र दक्षिण देउखुरी अधिकार मञ्चका पूजा चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा असल बचतकर्ता एञ्जिला कँडेल, सिता पौडेल र असल ऋणी मञ्जु चौधरी तथा बिष्णु थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सचिव उत्तम चौधरीले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष शुसीला सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६३ सालमा स्थापित उक्त सहकारीले हाल सम्म ३ करोड १३ लाख ४४ हजार बराबरको कारोवार गरेको साधारणसभामा जानकारी गराइएको थियो । इश्वरा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका ब्यवस्थापक ओभा पाठकले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे