LISTEN LIVE RADIO

लमहीका सेवाग्राही प्रमुख प्रशासकीय अधिकृतका कारण दुख पाउँदै, सराेकारवाला निकाय बेखबर



लमहीका सेवाग्राही प्रमुख प्रशासकीय अधिकृतका कारण दुख पाउँदै, सराेकारवाला निकाय बेखबर

लमही २१ पुस । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको सरुवा र पुनः हाजिरीको विषयले लमही नगरपालिका अस्तव्यस्त भएको छ । लमही नगरपालिका वडा नं. ६ सञ्चारटोलमा गत वर्ष नाला निर्माण र सडक ग्राभेल गर्न पाँच लाख बजेट थियो । उपभोक्ताले सबै काम गर्दा ५४ हजार मूल्य बरावरको श्रमदान गर्नुपर्ने थियो तर नाला निर्माणको काम हुन सकेन । सडक ग्राभेलमा एक लाख ८८ हजारको मात्रै काम भयो ।

नगरपालिकाले सबै काम सम्पन्न भएको अवस्थामा काट्नुपर्ने श्रमदानको ५४ हजार रुपैयाँ रकम काट्यो । उपभोक्ता र नगरपालिकाको बीचमा हिसाव मिलेन । अझै स्थानीयले ३० हजार रुपैयाँ भुक्तानी पाउन बाँकी छ । ‘हिसाव मिलानको लागि कतिपटक नगरपालिका धायौं कामै भएन । अहिले त नगरपालिकामा न हाकिम भेटिन्छन् । न जनप्रतिनिधि’– टोल विकास संस्थाका सचिव हरिराज धितालले भने– ‘न पुरानो कामको सबै भुक्तानी पाइएको छ । न त नयाँ योजना शुरु गर्न सकिएको छ । नगरपालिकाको काम अस्तव्यस्त हुँदा उपभोक्तालाई नराम्रोसँग असर ग¥यो ।’

असोज १८ गतेदेखि पानी प¥यो । सबैभन्दा धेरै लमही नगरपालिकामा असर ग¥यो तर बाढीपीडितले स्थानीय सरकारबाट पाउनुपर्ने राहत सुविधा पाएका छैनन् । कार्यपालिका बैठक समेत बस्न सकेको छैन । मुटु, क्यान्सर, मृगौलाजस्ता दीर्घरोगीलाई उपचारको लागि दिनुपर्ने सिफारिस समेत रोकिएको छ । नगरपालिकामा १०÷१२ जनाको फाइल दर्ता भए पनि त्यस बारेमा निर्णय हुन नसक्दा बिरामीको बिचल्ली भएको छ । ‘आन्द्राको क्यान्सर छ । म अस्पतालमा छु । उपचारको लागि सहयोग पाइन्छ कि भनेर सिफारिस गर्न कागज बुझाएको अहिलेसम्म केही जवाफ आएन’– बिरामी लक्ष्मण चौधरीले भने– ‘सहयोग पाउने ठाउँबाट एउटा निर्णय हुन नसक्दा उपचार नपाई मर्ने अवस्था भयो ।’

कृषकले पाउनुपर्ने अनुदानको मल, बिउ सहजरुपमा पाउन सकेका छैनन् । वार्षिक स्वीकृत कार्यक्रमहरु पनि सञ्चालन हुन सकेका छैनन् । नयाँ आर्थिक वर्ष शुरु भएको छ महिना पुग्दा पनि नगरपालिकाबाट नयाँ आयोजना सञ्चालन हुन सकेका छैनन् । संघीय सशर्त तथा शहरी विकास आयोजनाको कामहरु समेत अघि बढ्न सकेका छैनन् । जसले गर्दा स्थानीय विकासको काम प्रभावित भएको छ । यी केही समस्याका उदाहरण हुन् । लमही नगरपालिकाको सेवा प्रभावित छ । विकास निर्माणका काम भएका छैनन् । दैनिक प्रशासनिक कामकाज समेत अघि बढ्न सकेको छैन ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले समस्या समाधान गर्न पहल गरिरहेको दाबी गर्नुभएको छ । तर निकास कहिले निस्कन्छ भन्नेबारेमा एकिन छैन । ‘काठमाडौं पनि गयौं । जो भए पनि हाकिम चाहियो भन्यौं तर अहिलेसम्म पाएनौं’– उनले भने– ‘सबै तहमा छलफल भएको छ । अबको एक हप्ताभित्र नयाँ केही हुन्छ कि भन्ने आशा छ ।’

यस्तो छ घटनाक्रम

प्रमुख प्रशासकीय अधिकृत डाँगीको भदौ दोस्रो हप्ता मधुवन नगरपालिका बर्दियामा नियमित सरुवा भयो । डाँगीको ठाउँमा खाँडाचक्र नगरपालिका कालीकोटबाट देवेन्द्रप्रसाद श्रेष्ठ लमही नगरपालिकामा सरुवा भएर आए । डाँगी मधुवन नगरपालिकामा गएनन् । त्यहाँ अरु नै प्रमुख प्रशासकीय अधिकृत हाजिर भए । त्यसपछि ठाकुरबाबा नगरपालिकामा सरुवा पत्र बन्यो ।

त्यहाँ पनि डाँगी जानुभएन तर लमही नगरपालिकाबाट सरुवा भएको एक महिना नबित्दै असोज १२ गते लमही नगरपालिकामा पुनः डाँगीले सरुवा पत्र दर्ता गर्दै हाजिर गरे । जहाँ देवेन्द्रप्रसाद श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै थिए । निर्वाचन आचारसंहिता लागु हुने अघिल्लो दिन डाँगीको हाजिरी भयो । असोज १३ र १४ गते श्रेष्ठले काम गरे पनि उहाँको रमाना तयार भयो । एक महिना नबित्दै पुनः प्रमुख प्रशासकीय अधिकत डाँगी लमही नगरपालिकामा हाजिर भएपछि वडाध्यक्षहरु आन्दोलनमा उत्रिए ।

नगरपालिकामा तालाबन्दी गर्दै सेवा प्रभावित पारियो । असोज २४ मा नगर प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको बैठकले डाँगीको सरुवा गर्ने सहमतिसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइयो । वडाध्यक्षहरुको आन्दोलन स्थगन भयो । त्यसपछि डाँगीले असोज २७ गते उच्च अदालत तुलसीपुरमा हाजिर हुन काम काज गर्न पाउनुपर्ने माग राख्दै मुद्दा दर्ता गरे । अदालतले असोज २८ मा अन्तरिम आदेश दियो । त्यसपछि डाँगी अदालतको आदेश लिएर नगरपालिकामा हाजिर भए । यही बीचमा दरबन्दी नभएको ठाउँमा कर्मचारीलाई सरुवा गरेको विषय सतहमा आयो । कर्मचारीले समस्या समाधानको माग राख्दै मंसिर ८ मा नगर प्रमुख, उपप्रमुखसहित जिल्ला प्रशासन कार्यालयसम्म ज्ञापनपत्र पु¥याए । समस्या समाधान भएन ।

त्यसपछि मंसिर ११ बाट दशबुँदे माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिए । वडाध्यक्षले साथ दिएपछि आन्दोलन तातियो । डाँगीसँग साथमा रहेर काम गर्न नसकिने भन्दै कर्मचारीहरु अघि बढे । मंसिर १५ गते लमही नगर विकास समितिको क्वार्टरमा प्रमुख प्रशासकीय अधिकृत घेराउमा परे । सोही दिन नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष र कर्मचारीको बीचमा प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवा गर्ने विषयमा लिखित सहमति भयो । कर्मचारीहरुले पुनः प्रमुख प्रशासकीय अधिकत डाँगी आए आन्दोलनमा उत्रिने चेतावनी सहित काममा फर्किए । तर अहिले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन जस्तै बनेको छ ।

गेहेन्द्रबहादुर डाँगीलाई आउन नदिने र नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि नआउने स्थिति बनेपछि नगरपालिका अस्तव्यस्त बनेको छ । डाँगीले रविन्द्र क्षत्रीलाई दिएको निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मंसिर २१ मा खोसेपछि दैनिक कामकाज समेत प्रभावित छ । डाँगीले पुनः उच्च अदालत तुलसीपुरमा अपहेलना सम्बन्धी जनप्रतिनिधि र कर्मचारीलाई मुद्दा दर्ता गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आफ्नो कतै सरुवा नभएको हुँदा काम गर्न पाउनुपर्ने बताउँछन् । ‘मेयर उपमेयरले जसरी लैजानुभयो त्यसरी काम गर्न दिनुभयो भने काम गर्ने हो’– उनले भनिन्।

राजनीतिक दलको विज्ञप्ति

लमही नगरपालिकामा भएको समस्याको बारेमा बल्ल राजनीतिक दलहरु बोल्न थालेका छन् । लामो समय अस्तव्यस्त हुँदा चुपचाप रहेका दलहरु विज्ञप्ति जारी गर्दै तत्काल समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

नेकपा माओवादी केन्द्र लमही नगरपालिका समितिले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐनले दिएका अधिकारहरु कार्यान्वयन गर्न नसक्दा लमही नगरपालिका अस्तव्यस्त हुँदा जनताको काम नभएकोप्रति जनदबाबसहितको पहल आवश्यक रहेको नगर अध्यक्ष दिलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी लमही नगरकमिटीका अध्यक्ष पूर्ण खनालले पनि विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको सरुवा, थमौती जस्ता सामान्य विषयमा निर्णय लिन नसकी समग्र कार्यालयको काम प्रभावित पार्ने, आन्दोलन गर्ने, तोडफोडनै हुने जस्ता कार्य सिर्जना हुनु दुःखद भएको उल्लेख गरिएको छ । समस्या समाधान नभए संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ । नयाँ युगबाेधबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे