LISTEN LIVE RADIO

लुम्बिनीमा नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरूको सपथग्रहण स्थायी राजधानी देउखुरीमा गर्ने तयारी सुरु



लुम्बिनीमा नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरूको सपथग्रहण स्थायी राजधानी देउखुरीमा गर्ने तयारी सुरु

भालुवाङ १५ मंसिर । लुम्बिनी प्रदेशमा नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरूको सपथग्रहण स्थायी राजधानीमा गर्ने तयारी सुरु भएको छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद र अन्य मन्त्रालय रहने कार्यालयको व्यवस्थापनको काममा तीव्रता दिइरहेकाे हाे।

तर, प्रदेश सरकार मातहतमा रहेका कर्मचारीहरू भने राजधानी क्षेत्रमा नआउने अडानमा देखिन्छन्। विभिन्न कर्मचारी ट्रेड युनियनलगायत पेशागत संघसंस्थाको आडमा कर्मचारीहरूले राजधानीको विषयमा राजनीति गरेका छन्।

प्रदेश सरकारले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास तयार पार्ने काम गरिरहेकाे छ। यसका अतिरिक्त प्रदेशसभा भवन भित्रको आन्तरिक व्यवस्थापनको काम चलिरहेको छ। अब कुर्सी, टेबल, साउण्ड सिस्टम जडानको काम बाँकी छ।

प्रदेशसभाको पाँच वर्षे कार्यकाल सकिएपछि नयाँ कार्यकालका लागि निर्वाचन पनि भइसकेको छ। अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरूको सपथ स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा राख्ने तयारी गरिएको हो।

बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्ने तयारी अन्तरगत पूर्वाधार व्यवस्थापनको काम चलिरहेको स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए।

‘प्रदेशसभाको निर्णय हो। प्रदेशसभाले निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको रहन्छ। प्रदेश सरकारका सबै कामकाजहरू सुरु गर्ने भनेर तयारी भइरहेको छ’, उनले भने, ‘मुख्मन्त्रीको सपथ ग्रहण, प्रदेशसभा सदस्यहरूको सपथ ग्रहण गर्ने दायित्व र जिम्मेवारी प्रदेश सरकारको हो।’

राप्ती प्राविधिक शिक्षालयको नाममा रहेको जग्गा र संरचना प्रदेश सरकार मातहतमा छ। शिक्षालयलाई गढवा गाउँपालिकाको गोवरडिहास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ। शिक्षालयभित्रको घरहरूलाई सामान्य मर्मत गरेर तयार पार्न थालिएको छ।

२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गर्‍याे। सो निर्णयको आधारमा प्रदेश राजधानी कार्यान्वयनको बाटो खुल्यो। प्रदेश सरकारले राजधानीसँग जोडिएका थुप्रै कामहरू अघि बढायो।

राप्ती प्राविधिक शिक्षालयले प्रयोग गरेका पुराना भवन मर्मत गरेर मन्त्रालय र अन्य कार्यालयहरूको लागि तयार पार्ने काम भइरहेको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत अन्य पूर्वाधार तयार पार्ने काम गरेको हो।

‘दिनरात पूर्वाधार तयार पार्ने काम चलिरहेको छ। अबको केही दिनमा कार्यालयहरू तयार हुनेछन्’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘सबै हिसाबले प्रदेश मन्त्रालय र मातहतका कार्यालयहरू यहाँ राख्न सकिन्छ।’

प्रदेश राजधानीमा हालसम्म पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्थापना भइसकेका छन्।

-देश सञ्चारबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे