LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाले जेष्ठ नागरिकको समस्या बुझ्दै, कार्यालयमा सेवा लिन जाँदा लाइन बस्न नपर्ने



राप्ती गाउँपालिकाले जेष्ठ नागरिकको समस्या बुझ्दै, कार्यालयमा सेवा लिन जाँदा लाइन बस्न नपर्ने

भालुवाङ ११ असोज । दाङको राप्ती गाउँपालिकाले ९ वटै वडाका जेष्ठ नागरिकहरुको गुनासा, समस्या बुझ्न सुरु गरेको छ । “जेष्ठ नागरिकको सम्मान, राप्तीवासीको स्वाभिमान“ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सप्ताहाव्यापी कार्यक्रम अन्तरगत राप्ती गाउँपालिकाले वडातहमा जेष्ठ नागरिकहरुलाई एकै थलोमा राखेर उनीहरु सँग गाउँपालिका र वडा कार्यालयमा सेवा लिन जाँदा हुने समस्या, पारिवार समस्या र स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिदै निशुल्क स्वास्थ्य परिक्षण समेत दिन सुरु गरेको हो ।असोज ८ गते देखि १५ गते सम्म सञ्चालन हुने कार्यक्रम अन्तरगत मंगलवार राप्ती गाउँपालिका वडा नं. ८ र ५ मा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने कार्यक्रम अन्तरगत जेष्ठ नागरिक सँग उनीका समस्या र गुनासा सुन्नुका साथै स्वास्थ परिक्षण र स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव समेत दिने काम भएको छ । वडा नं ८ र वडा नं. ५ मा बरिष्ट मुटुरोग बिशेषज्ञ डा.सुमन्त बन्जाडे, सिसहनियाँ स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. भरत पोख्रेल लगायतका स्वास्थ्यकर्मीहरूले जेष्ठ नागरिकको स्वास्थ परिक्षण गरि सल्लाह सुझाव दिएका थिए ।

दुवै ठाउँमा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकाबासी जेष्ठ नागरिक बुवाआमाहरूलाई बाचुन्जेल कसरी सहज रूपमा जीवनयापन गराउने र खुसी साथ रमाएर बाच्ने वातावरण तयार गर्ने आफ्नो ध्यान त्यस तर्फ केन्द्रीत रहेको बताएका छन् । त्यस्तै उनले वडा कार्यालयमा सेवा लिन जाने जेष्ठ नागरिकहरुलाई अव लाइनमा बस्न नपर्ने बताएका छन् । त्यसका लागि सवै वडाका वडा अध्यक्ष र कर्मचारीहरुलाई जेष्ठ नागरिकलाई लाइनमा नराखी सेवा दिन निर्देशन समेत दिएको बताएका छन् ।त्यस्तै उपाध्यक्ष कमलापती चौधरीले बुढेसकालमा छोराछोरीले निभाउनुपर्ने भुमिका हरेक छोराछोरीले पुरा गर्नुपर्ने बताएकी छिन् । त्यस्तै बरिष्ठ मुटुरोग बिषेशज्ञ डा.सुमन्त बन्जाडेले बुढेसकालमा देखिने मुख्य–मुख्य समस्याहरू र त्यसलाई न्यूनीकरण गर्ने उपायका बारेमा चर्चा गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा दुबै वडामा भएको कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सिसहनियाँ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरू, गाउँपालिकाका कर्मचारीहरू तथा संचारकर्मीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महिला। बलबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जिवनकुमारी जिसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे