LISTEN LIVE RADIO

नेपाल साइकल उत्सवको टोलीलाई भालुवाङमा भव्य स्वागत



नेपाल साइकल उत्सवको टोलीलाई भालुवाङमा भव्य स्वागत

ओमप्रकाश गुप्ता, भालुवाङ २५ कार्तिक ।

नेपाल साइकल उत्सवको टोली मंगलवार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा भव्य स्वागत गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले नेपाल साइकल उत्सवको टोली लुम्बिनी प्रदेशको राजधानी भालुवाङ आइपुगेपछि स्थानीय पत्रकार र समाजिक अभियान्ताहरुले भव्य स्वागत गरेका हुन् ।


पश्चिम नेपालको दोधाराचाँदनी (महाकाली) पुलबाट प्याडलिङ सुरु गरेको नेपाल साइकल उत्सवको टोली धनगढी, ठाकुरद्वार, नेपालगन्ज, कोहलपुर, अमेलिया, तुल्सीपुर, घोराही स्वर्गद्धारी हुँदै देउखुरी उपत्यकाको भालुवाङमा आइपुगेको हो ।


नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए) को सहयोगमा भईरहेको तीन साताको यो साइकल यात्रा इलामको अन्तुडाँडामा गएर समापन हुने बताइएको छ । महाकाली देखि पूर्व मेची सम्मको यो विशेष साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ । प्युठानको विश्व चर्चित धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्धारीबाट टोलीले बिहान साइक्लिङ सुरु गरेको थियो । काठमाडौंबाट हिंडेको नवौं दिन साइकल टोली मंगलवार बेलुका ४ बजे भालुवाङ आइपुगेको थियो ।


विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वको रहेको साइकल टोलीमा राजेन्द्र सापकोटा, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, अशोक सिलवाल लगायत रहेका छन् । बीच बीचमा स्थानीय साइकल यात्री पनि जोडिइरहेका छन् ।

यसैबीच देउखुरी टुडे र आशाका किरणहरु नामक संस्थाले साइकल टोलीलाई भालुवाङको कृष्णसेन इच्छुक चोकमा फूलमालाले भव्य स्वागत गरेको थियो । स्वागत पछि पाखापानी स्थित होटल पौवामा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।


नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्षद महेश रिजालको अध्यक्षता एवम् विश्व साइकलयात्री पुष्कर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, आशाका किरणहरु नामक संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ता सुर्यकिरण केसी, उपाध्यक्ष तथा सामाजिक अभियान्ता अशोक बेल्वासे, पत्रकारहरु विदुर एमसी, अन्शु बोहोरा, रितु राना लगायतले आ आफ्नो भनाई राखेका थिए । देउखुरी टुडेका प्रकाशक सम्पादक सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले गरेका थिए ।


यसैबीच नेपाल साइकल उत्सवको टोलीलाई राप्ती गाउँपालिका २ लालमटिया स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको हर्षेडाँडा स्थित कालिका धार्मिक तथा पर्यटकीय स्थल क्षेत्रमा नवौं रातको क्याम्प खडा गरी बसेको छ । पर्यटन व्युँझाउन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डको सन्देश प्रवाह गर्न यो सांकेतिक साइकल प्रयास गरिएको टोलीका सदस्य राजेन्द्र सापकोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे