LISTEN LIVE RADIO

दाङका एक जनालाई नागमणि उपलब्ध गराउने भन्दै एक करोड बढी रकम ठगी गर्ने समुह पक्राउ



दाङका एक जनालाई नागमणि उपलब्ध गराउने भन्दै एक करोड बढी रकम ठगी गर्ने समुह पक्राउ

नेपालगञ्ज १९ कार्तिक  । दाङका एक जनालाई नागमणि उपलब्ध गराउने भन्दै एक करोड बढी रकम ठगी गर्ने समुहलाइ बाँके प्रहरीले पक्राउ गरेकाे छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै दाङका एक जनालाई ठगी गर्ने समुहलाई पक्राउ गरेको हाे ।

दाङको घोराही उपमहानगरपालिका–१७ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइ-फकाई प्रलोभनमा पारी एक करोड ८९ लाख ५० हजार ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–४ निवासी धनबहादुर रोका, सल्याको कुमाख गाउँपालिका–५ निवासी कृष्ण शाह र शारदा नगरपालिका–९ निवासी डिल्लीबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । प्रहरी उपरीक्षक रानाका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ बाट उनीहरुलाई आइतबार रु ४० लाखसहित पक्राउ गरिएको हो । उनीहरुलाई मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।

यसैबीच बाँके प्रहरीले मंगलबार पत्रकार सम्मेलनमा अवैध ठगीधन्दा, रेड पाण्डाको छाला तथा अवैध लागुपदार्थ कारोवारमा संलग्न व्यक्ति र बरामद गरिएका अवैध सामग्रीको विवरण सार्वजनिक गर्दै आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

प्रहरीले आइतबार बाँके र दाङको सिमाना शिवखोलाबाट तीन किलो लागुऔषध अफिमसहित पक्राउ परेका पश्चिमरुकुम सानीभेरी गाउँपालिका–८ निवासी २७ वर्षीय चन्द्रप्रकाश वली, दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित मङ्गलबार कोहलपुरबाट पक्राउ परेका बराहताल गाउँपालिका–५ निवासी गणेश नेपाली, लालबहादुर नेपाली, चामुण्डाबिन्द्रा नगरपालिका–५ दैलेख निवासी दिनेश कार्की र उमेशबहादुर थापालाई पनि सार्वजनिक गरेको छ ।

यसैगरी मङ्गलबार दिउँसो २० पुरिया ब्राउन सुगरसहित पक्राउ परेका भारतको बहराइच रुपैडिहा थाना निवासी १८ वर्षीय जुगिन्दर सोनी, सोही ठाउँ निवासी २९ वर्षीय राकेश सोनी, बाँकेको खजुरा गाउँपालिका–१ निवासी १९ वर्षीय विष्णु थापा क्षेत्री र नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी २५ वर्षीय सागर थापालाई पनि प्रहरीले बरामद गरेको सामग्रीसहित सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे