LISTEN LIVE RADIO

देउखुरीमा प्रदेशसभा संचालन गर्न गृहकार्य अन्तिम चरणमा, राप्ती प्राबिधिक शिक्षालय गोबरडिहामा स्थानान्तरण गर्ने सहमति



देउखुरीमा प्रदेशसभा संचालन गर्न गृहकार्य अन्तिम चरणमा, राप्ती प्राबिधिक शिक्षालय गोबरडिहामा स्थानान्तरण गर्ने सहमति

शिबराज पन्थी, गढवा १९ कार्तिक ।

लुम्विनी प्रदेशको स्थायी मुकाम देउखुरीमा आउने निश्चित भएपछि प्रदेशसभाको हिउँदे अधिेबेशन देउखुरीको राप्ती प्राबिधिक शिक्षालयमा संचालन गर्नेगरी गृहकार्य सुरु भएको छ ।

यसैबीच आइतवार गढवाको गोबरडिहामा भएको सर्बदलीय सर्बपक्षीय बृहत भेलाले राप्ती प्राबिधिक शिक्षालय गोबरडिहा स्थित सरस्वती माबिको जग्गामा स्थानान्तरण गर्ने साझा सहमति भएको प्रदेश सांसद इन्द्रजित थारुले जानकारी दिए ।

केहिदिन अघि लुम्बिनी प्रदेशका कानून मन्त्री कुलप्रसाद केसी र सभामुख पुर्णबहादुर घर्ती सहितको एक उच्च स्तरिय टोलीले राप्ती प्राविधिक शिक्षालयमा एक अनौपचारिक कार्यक्रम राखी स्थलगत अध्ययन अनुगमन गरेको थियो ।

प्रदेश सरकारको हिउँदे अधिबेशन राप्ती प्राबिधिक शिक्षालयमा राख्ने गृहकार्यका साथ प्राबिधिक शिक्षालयलाई स्थानान्तरण प्रकृयामा लैजाने तयारीको पनि संगसंगै गृहकार्य सुरु भएको र गढवाको गोबरडिहामा राख्ने साझा सहमति समेत भै सकेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

गढवा गाउँपालिकाले प्राबिधिक शिक्षालयका लागि आबश्यक पर्ने जग्गा उपलब्ध गराउने र प्रदेशसभा मौरीघाटमा संचालन गर्न वातावरण मिलाउने कार्यमा पुर्ण सहयोग गर्ने साझा सहमति भएको जनाएको छ ।

गढवा गाउँपालिकाको आयोजनामा आइतबार गोबरडिहा स्थित सरस्वती माध्यमिक बिद्यालय परिसरमा भएको सर्बपक्षीय सर्बदलीय भेलामा यस्तो सहमति भएको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा पुर्व सांसदहरु रश्मिराज नेपाली र योगेन्द्र चौधरीको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा राप्ती प्राबिधिक शिक्षालयलाई आबशयक पर्ने जग्गा सरस्वती मावि गोबरडिहाले उपलब्ध गराउने र सो बिद्यालयको इतिहास र अस्तित्व कायमरहने गरी गढवा गाउँपालिकाले प्राबिधिक शिक्षालयका लागि आबश्यक ब्यवस्थापन गर्ने निर्णय भएको छ ।

 

कार्यक्रममा पृथु टेक्निकल कलेजका संयोजक प्रदिपराज शर्मा, वडा नं. ६ का वडाध्यक्ष बालचन्द्र ठकूरी हमाल, सरस्वती माबि गोबरडिहाका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमनारायण पोख्रेल (बिश्वाँस), नेपाली काँग्रेसका श्रीपत चौधरी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, शिक्षाप्रेमी बुद्धिजिवीहरु सानुनारायण अधिकारी, गोबिन्द ओली, सुर्यप्रकाश बर्मा, हेमराज शर्मा, रघुनन्दन चौधरी, खगेश्वर शर्मा लगायतले आफ्नाे राय ब्यक्त गरेका थिए ।

 

झण्डै ७ सयको हाराहारीमा बिद्यार्थीहरु रहेको राप्ती प्राबिधिक शिक्षालयका स्थानान्तरणका लागि ४० बिगाह जग्गा र एक अर्ब रुपैयाँ आबश्यक पर्ने बिद्यालय स्रोतले जनाएको छ ।

 

हाल सरस्वती माबि गोबरडिहाको ६५ कोठाको भवन मध्ये कृषि प्राबिधिक धारको ल्याब सहित ३४ कोठा प्रयोगमा आएको र ३१ कक्षाकोठाहरु खाली नै रहेको बिद्यालयले जनाएको छ । यसको अलावा सरस्वती माबि गोबरडिहाको प्रशस्तै जग्गाा रहेकोले पनि प्रबिधिक शिक्षालय यो स्थानमा स्थानान्तरण गरी प्रदेश सरकारलाई भौतिक संरचना सहितको राप्ती प्राबिधिक शिक्षालय हस्तान्तरण गर्न सकिने बिकल्प रहेको कार्यक्रममा बताइएको थियो ।

यी सबै कुराहरु कानूनी प्रकृयाबाट मात्र अगाडी बढ्ने छन्, प्रदेश सरकारको स्वामित्वमा प्राबिधिक शिक्षालयको भौतिक संरचना सहितको जग्गा हस्तान्तरण हुने छ भने प्राबिधिक शिक्षालयको स्वामित्व रहने गरी गोबरडिहाको जग्गा लिज प्रकृया वा कुनैपनि माध्यमबाट हस्तान्तरण हुने छ–सांसद इन्द्रजित थारुले भने ।

प्रदेश राजधानी तत्काल ल्याउन र हिउँदे अधिबेशन संचालन गर्न देउखुरी उपत्यकाका स्थानीय सरकार, राजनितिक दल, नागरिक समाज, उद्योगी ब्यवसायी र आम नागरिकले हरेक कोणबाट सकारात्मक सहयोग गर्ने बेला आएको –पुर्वसांसदद्धय रश्मिराज नेपाली र योगेन्द्र चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे