LISTEN LIVE RADIO

वन माफियाहरूले वन सखाप पार्ने नीति नियम ल्याउन खोज्दै छन् : उपाध्यक्ष खड्का



वन माफियाहरूले वन सखाप पार्ने नीति नियम ल्याउन खोज्दै छन् : उपाध्यक्ष खड्का

ओमप्रकाश गुप्ता, भालुवाङ २४ असोज ।

वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले पछिल्लो समय वन माफियाहरूले वन सखाप पर्ने नीति नियम ल्याउन खोजेकोले सबै वन समूहहरू चनाखो हुन आवश्यक रहेको बताएका छन् । सामुदायिक वन महासंघको आयोजनामा हरियो वन कार्यक्रमले गोवरडिहा क्षेत्रका सामुदायिक वन समूहसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष खड्काले वन संरक्षण क्षेत्रको परिधिलाई फराकिलो पार्न सो क्षेत्रका वन समूहहरूले समयमै आफ्ना नियमित कार्यलाई निरन्तरता दिदै पारदर्शीता आत्मसाथ गर्नुपर्नेमा जोड समेत दिएका छन् । सामुदायिक वन ऐन २०७६ मा भए गरेका सवाल तथा सामुदायिक वन समूहहरूको काम, कर्तब्य तथा अधिकारको विषयमा केन्द्रीय वन महासंघका उपाध्यक्ष भिमप्रकाश खड्काले प्रस्टाएका थिए ।

उपाध्यक्ष खड्काले सरकारले उपभोक्ता समूहहरूलाई फरक तवरले हेर्नाले सामुदायिक वन समूहहरूले पूर्णरूपमा प्रगति गर्न नसकिरहेको बताउँदै राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन र धार्मिक वनको रूपमा ब्यवस्थित गर्न साथै वन्यजन्तु तथा जैविक विविधताको संरक्षण गर्न सम्बन्धित कानूनलाई संशोधन र एकीकरण गरिए पनि अझै पनि उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने गरी ऐन आउन नसकेको बताएका छन् ।

साविक गोवरडिहा गाविस र हालको गढवा गाउँपालिका वडा नम्बर १, २ र ३ वडामा पर्ने १२ वटा सामुदायिक वन समूहहरूको क्रियाकलापलाई चुस्त र दुरूस्त बनाउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको थियो ।

वन समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षता, केन्द्रीय वन महासंघका उपाध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यता, पूर्व सांसद रेश्मीराज नेपाली तथा दाङ जिल्ला वन महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीको विशिष्ट आतिथ्यतामा वनका सवालमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा दाङ जिल्ला वन महासंघका कोषाध्यक्ष कमलराज पोख्रेल, कमल शर्माले समूह ब्यवस्थापन, वन तथा वातावरण ब्यवस्थापन, वन समूहको आर्थिक ब्यवस्थापन, समूहमा जीविकोपार्जन तथा उद्यमको विकास र समूहले गर्नुपर्ने सहकार्यका बारेमा जानकारी समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे