LISTEN LIVE RADIO

मिया दम्पतीको उदाहरणीय काम : खाडीबाट कोभिड अस्पताललाई सहयोग



मिया दम्पतीको उदाहरणीय काम : खाडीबाट कोभिड अस्पताललाई सहयोग

गढवा २२ जेठ । कतारको खाडीमा पुगेर तातो रापमा दश औंली नंग्रा खियाएका राप्ती गाउँपालिकाका शुक्रदिन मिया र निजकी श्रीमती निशा मिया यति बेला समाजका उदाहरणीय पात्र बनेका छन् । ऋण तिरेपछि पबित्र काम गर्ने लक्ष्य राखेका मिया परिवारले पूजाआजा र यज्ञ गर्नुभन्दा पबित्र काम गरेका छन् ।

ऋण तिरेर सकियो त्यहि खुसीयालीमा बुढाले कतारबाट फोन गरे । कोभिड अस्पताललाई सहयोग गरौं । त्यसै अनुरुप हामीले सिसहनियाँ स्थित कोरोना अस्थायी अस्पताल र गढवा स्थित कोरोना आइसुलेसनलाई सहयोग गर्ने मनस्थिती बनाएका हौं । नागरिकहरुको ज्यान बचाउने यो पनि पूजाआजा र यज्ञ भन्दा राम्रो प्रकारको पवित्र दान हो–मियाले भने ।

मिया दम्पतीले शुक्रवार गढवा गाउँपालिकाको आइसुलेसन सेन्टरका लागि स्वास्थ्य सुरक्षा सामाग्रीका लागि ५ हजार रुपैयाँ सहयोग गरेका छन् । गढवा गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक एवं वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीलाई मियाले सो रकम हस्तान्तरण गरेका हुन् । सो को लागि राप्ती गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बिष्णुबहादुर जिसीले समन्वय गर्नुभएको बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले बताए ।

निशा मियाले आफू बसोवास गरेको वडा राप्ती गाउँपालिका वडा नं. ४ को वडा कार्यालयलाई कोभिड महामारीबाट बच्न नागरिकको स्वास्थ्य सुरक्षामा खर्च गर्नभनि १० हजार रुपैयाँ प्रदान गरेकोे वडा अध्यक्ष जिसीले बताए । यसैगरी शुक्रवार मियाले वडा अध्यक्ष जिसीलाई वडा नम्बर ९ को कार्यालय मार्फत कोभिड अस्पतालका लागि ५ हजार रुपैयाँ वडा नं. ४ का वडा अध्यक्ष जिसीलाई हस्तान्तरण गरेका छन् ।

रोजगारको शिलशिलामा खाडी राष्ट्र कतार पुगेर कोभिड महामारीबाट नागरिकहरुलाई बचाउन मिया दम्पतीले गरेको काम हाम्रो समाजका लागि उदाहरणीय सिको भएको राप्ती गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जिसी तथा गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष भण्डारीद्धयले रकम हस्तान्तरण कार्यक्रममा बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे