गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने समयसीमा आज सकिँदै



गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने समयसीमा आज सकिँदै

काठमाण्डाै २८ बैशाख । गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छिन् ।

तीन दिनको समयसीमा आज सकिन लागेको हो । बहुमतको सरकारका लागि गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ । तर मुख्यमन्त्री को बन्ने भन्ने यकिन भएको छैन् । अहिले प्रदेश सभामा कुनै पनि दलको बहुमत छैन । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, जनता समाजवादी पार्टी (जसपा)का दुई र एक जना स्वतन्त्र सांसद छन् ।

सरकार गठनका लागि ३१ सांसद चाहिन्छन् । अहिले कांग्रेस, माओवादी, जसपा र जनमोर्चाले सरकार गठन गर्ने प्रयास गरिरहेका छन् । चारै दलको गरेर ३२ सांसद हुन्छन् । एमालेलाई पुनः सरकार गठन गर्न जनमोर्चाले समर्थन गरे पुग्छ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले मुख्यमन्त्री गुरुङलाई साथ दिएर यस अघि नै मन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे