LISTEN LIVE RADIO

मंसिर पुस भन्दा अघि चुनावको संभावना छैन : काँग्रेस महामन्त्री कोइराला



मंसिर पुस भन्दा अघि चुनावको संभावना छैन : काँग्रेस महामन्त्री कोइराला

घोराही ३ माघ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी मंसिर पुस महिना भन्दा अगाडि निर्वाचनको संभावना नरहेको बताएका छन् । नेपाली काँग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले कम्युनिष्टहरु बीचकै झगडाका कारण बैशाखमा चुनाबको संभावना नरहेको बताएका हुन् ।

महामन्त्री कोइरालाले कम्युनिष्ट पार्टी हालसम्म बिभाजन भइ नसकेको भएपनि चुनाव चिन्ह टुंगो नलाग्दा सम्म चुनाव हुन नसक्ने तर्क गरे । ‘ प्रचण्ड– नेपाल समुहले चुनाब चिन्ह पाए भने केपी ओलीले मुद्दा हाल्न सक्छन् र त्यो मुद्दाले अरु दूई तीन महिना ढिला हुन जान्छ,’ महामन्त्री कोईरालाले भने ‘ कम्युनिष्टकै बीचको झगडाका कारण बैशाखमा चुनाब संभव छैन।’सरकारले चुनावको कुरा गरेपनि कुन नेकपा आधिकारीक हो र चुनाव चिन्ह कस्को हो भन्ने टुंग्यो नलाग्दा सम्म चुनाब संभव नुहने उनले बताए ।

अहिले नै चुनाबको संभावना नरहेको हुँदा अहिले कांग्रेस नेतृत्व परिवर्तन गरेर एकतावद्ध हुन सके आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने उनको भनाई थियो । कांग्रेस नभइ देशको बिकास संभव छैन भन्ने कुरा छर्लंग भइसकेको हुँदा नेतृत्व परिवर्तन गरि एक ढिक्का भएर अगाडि बढ्न सके काँग्रेसलाई जति कम्युनिष्टहरु मिलेपनि कुनै फरक नपर्ने उनको भनाई थियो । त्यस्तै उनले काँग्रेस एक्लै उभिनु पर्ने र कसैसंग मिल्न जरुरी नरहेको बताए ।

‘देशको विकासका लागि कांग्रेसले नेतृत्व गरेको सरकारका काम र कम्युनिष्टले नेतृत्व गरेका सरकारका कामलाई हेर्नुहोस’–महामन्त्री कोइरालाले भने–‘अनि देश विकासका लागि कांग्रेस कि कम्युनिष्ट पार्टी कुन आवश्यक छ,त्यो तपाईहरु थाहा पाउँनुहुन्छ ।’

उनले कांग्रेसकै नेतृत्वमा देशमा सडक, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा उल्लेख्य विकास भएको भन्दै बर्तमान कम्युनिष्ट सरकारबाट नयाँ कुनैपनि आयोजना दिन नसकेको बताए । जनताले कम्युनिष्टलाई दुईतिहाईको बहुमत दिदा समेत विकास गर्न नसकेको महामन्त्री कोइरालाको आरोप थियो । विकासको बद्लामा कम्युनिष्ट सरकारले जनतालाई मंहगी, करवृद्धि, भ्रष्ट्राचारसँगै बलात्कारका घट्ना बढाएर महिलाहरुलाई पीडित बनाउने काम गरेको आरोप लगाए ।

‘ओली सरकारको दम्भवका कारण मलाई लागेको थियो,उनीहरुले अव नेपालमा ३० औं बर्ष सत्ता सञ्चालन गर्नेछन्’–उनले भने–‘तर उनीहरुको दिमाक रहेन छ । उनीहरुको दम्भ जनताका लागि रहिनछ, आफ्नो व्यक्तिगत स्वार्थका लागि रहिछ।’ साथै महामन्त्री कोइरालाले स्वर्गिय नेता खुमबहादुर खड्काको स्मरण गर्दै दाङलाई कांग्रेसमय बनाउन खड्को ठूलो योगदान रहेको चर्चा गरे ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पार्टीभित्रको विवादका कारण देशलाई अस्थीरतामा धकेल्ने काम कम्युनिष्ट सरकारले गरेको आरोप लगाए । जनताले देश र जनताको समृद्धिका लागि दुईतिहाईको जनमत दिएपनि कम्युनिष्टले जनमतको कदर गर्न नसकेको बताए । ‘कम्युनिष्टलाई जनताले दुईतिहाईको जनमत दिएर सरकार सञ्चालनका लागि पठाएका थिए,तर उनीहरु व्यक्तिगत स्वार्थमा लागे’–केन्द्रीय सदस्य गिरीले भने–‘जसले गर्दा जनताले पाँच बर्षका लागि दिएको जनमत कम्युनिष्टले तीन बर्षपनि टिकाउन सकेनन् ।’

कार्यक्रममा नेपाली कांग्रेस राष्ट्रियका मुख्य सचेतक अनिता देवकोटा, कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, काग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, क्षेत्र नं २ का सभापती भुपबहादुर डाँगी लगायतले सरकारको विरोध गरेका थिए ।

कांग्रेसका जिल्ला सभापती किर्तीबहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई जिल्लासचिव टेकबहादुर वलीले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला सचिब शंकरप्रसाद डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे