LISTEN LIVE RADIO

नागरिक समाज नागरिक वर्गको साझा संस्थाका रुपमा रहनु पर्छ



नागरिक समाज नागरिक वर्गको साझा संस्थाका रुपमा रहनु पर्छ

दाङ ३० असाेज । नागरिक समाज नागरिक वर्गको साझा संस्थाका रुपमा रहन एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । २०६२– ०६३ को जनआन्दोलनको जगमा स्थापित नागरिकहरुको साझा संस्था नागरिक समाजले समाज रुपान्तरण तथा लोकतन्त्रको रक्षाका लागि मध्यस्थताको भूमिका खेल्दै आएको भन्दै लोकतन्त्रको संस्थागत विकास र संघीयता कार्यान्वयनमा सच्चा पहरेदार बन्न सफल भएकाले यसको निरन्तरताको अपेक्षा गरिएको छ ।

शुक्रबार घाेराहीमा नागरिक समाज दाङले प्रकाशन गरेको नागरिक आवाज स्मारिका विमोचन कार्यक्रमका प्रमुख अथिति घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले लोकतन्त्रको संस्थागत विकास र स्थानीय सरकारको सुशासनमा पहल कदमी लिँदै आएको नागरिक समाजले कोरोनाको जोखिमका बेलामा पनि बारम्बार स्थानीय सरकारलाई जवाफदेही बनाउन सकारात्मक भूमिका खेलेको भन्दै धन्यवाद दिए ।

उनले नागरिकको साझा धारणालाई सकारात्मक ढंगबाट प्रस्तुत गरी सुशासन र समृद्धिको यात्रामा अघि बढ्न हौसला प्रदान गरेको बताए । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले नागरिक समाजले प्रशासन गरेको पुस्तकले इतिहासलाई अभिलेखीकरण गर्ने सफल भएको बताए । पुस्तकको अध्ययनबाट नयाँ पुस्तालाई अभिप्रेरीत गर्ने उनको भनाइ रहेको थियो । नागरिक समाज सधै न्यायिक स्वतन्त्रताको पक्षमा प्रश्न गर्ने संस्थाको रुपमा रहेको पोख्रेलको भनाई थियो ।

कार्यक्रममा नागरिक समाजका संस्थागत अध्यक्ष तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माले नागरिकहरुको दबिएको आवाज नागरिक समाजले बोल्न सक्नु पर्ने बताए । उनले राजनीतिक दवाव र प्रभावबाट माथि उठेर दबिएका नागरिकका आवाज सम्वन्धीत पक्षसम्म पुर्याएर समस्याको समाधान खोज्न केन्द्रित हुनु पर्ने बताए ।

नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा तथा घोराहीका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्य, नागरिक समाजका संस्थागत अध्यक्ष तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायण प्रसाद शर्मा र नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलको विशिष्ट आतिथ्यमा भएको स्मारिका विमोचन कार्यक्रममा , जिल्ला बार ईकाईका अध्यक्ष शिवप्रसाद घिमिरे, दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष नारायणप्रसाद भुसाल, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतले आआफ्नो भनाई राखेका थिए ।

उनीहरुले व्यवस्था परिवर्तन र द्वन्द्व समाधान गर्दै नागरिकहरुको साझा आवाज बनेर अघि बढेको संस्था सदैव नागरिकमैत्री बनेर काम गर्न सुझाउँदै राजनीतिक संकीर्णताबाट माथि उठ्न अनुरोध गरेका थिए । नागरिक समाजका सदस्य हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीलाई नागरिक समाजका उपसंयोजक नीमबहादुर थापाले धन्यवाद दिएका थिए भने कार्यक्रमको सहजीकरण सचिव लक्ष्मी आचार्यले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे