अग्रिम भुक्तानी दिएर भारतीय कम्पनीबाट २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय



अग्रिम भुक्तानी दिएर भारतीय कम्पनीबाट २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय

काठमाण्डाै ५ फागुन । सरकारले भारतको कोरोना भाइरसविरुद्धको खोप उत्पादक कम्पनीको सर्त अनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको २० लाख डोज खोप खरिदका लागि  भारतको सेरम इन्स्टिच्युट कम्पनीलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट कम्पनीले खोपको रकम सुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावली अनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । मन्त्रालयको यो प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

फेब्रुअरी महिनाभित्र १० लाख र मार्चभित्र बाँकी १० लाख डोज खोप ल्याउने सरकारको तयारी छ  । सुरुमा सेरम इन्स्टिच्युटले प्रति डोज ४ डलर ४ सेन्टमा खोप उपलब्ध गराउने बताए पनि नेपालले प्रतिडोज ४ डलरमा उपलब्ध गराउन पहल गरे पछि सेरम सहमत भएको थियो । यो निर्णयसँगै नेपाल प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गर्न ८० लाख डलर कम्पनीलाई पहिल्यै भुक्तानी गर्नुपर्ने हुन्छ ।

उत्पादक कम्पनीलाई खोप खरिदका लागि सुरुमा ८० प्रतिशत अग्रिम भुक्तानी दिने र  त्यसपछि  प्रतितपत्र (एलसी) खोलेर सामान लोड हुनेबेला बाँकी २० प्रतिशत भुक्तानी दिने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे