LISTEN LIVE RADIO

देउखुरीको कालाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्धघाटन



देउखुरीको कालाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्धघाटन

सन्तोषकुमार गुप्ता, भालुवाङ २७ माघ ।

देउखुरीको गढवाको वडा नम्बर १ कालाकाटेमा नवनिर्मित स्वास्थ्य इकाइ भवनको आज एक कार्यक्रमका बीच गढवा गाउँपालिकालाई हस्तान्तरणपछि उद्घाटन गरिएको छ । आम्दा माइन्ड्सको आर्थिक तथा प्राबिधिक सहयोगमा आम्दा नेपालद्वारा स्वास्थ्य मापदण्ड अनुसार भवन तयार गरी गढवा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

आम्दा परियोजनाका संयोजक ऋषिकेस श्रेष्ठले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई उक्त नवनिर्मित स्वास्थ्य इकाइ भवनको फाइल सहित हस्तान्तरण गरेका थिए । आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना अन्तर्गत आम्दा माइन्ड्स र परराष्ट्र मन्त्रालय जापानको आर्थिक तथा प्राविधिक सहयोगमा कुल ४८ लाख ३४ हजार ७ सय ४२ रुपैयाँ ९३ पैसाको लागतमा उक्त एक तल्ले तीन कोठे नवनिर्मित पक्की स्वास्थ्य इकाइ भवनको निर्माण गरिएको आम्दा परियोजनाका अधिकृत प्रदिपराज पन्तले जानकारी दिएका छन् ।


उक्त सामुदायिक स्वास्थ्य इकाइबाट प्रत्येक दिन बिहान १० बजे देखि साँझा ५ बजे सम्म ओपिडी सेवा, गर्भवती जाँच, सुत्केरी जाँच, परिवार नियोजन, स्वास्थ्य परामर्श र किशोर किशोरी मैत्री स्वास्थ्य परामर्श लगायतको सेवा प्रबाह हुने गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए । उक्त सामुदायिक स्वास्थ्य इकाइमा अहेब कल्पना यादव र कार्यालय सहयोगी दुर्गा राना मार्फत सेवा प्रबाह हुने स्वास्थ्य संयोजक चौधरीले जानकारी दिए ।


यस बर्ष आम्दा माइन्ड्सको आर्थिक तथा प्राबिधिक सहयोगमा गढवा गाउँपालिकाको वार्ड नम्बर १ को कालाकाटे र वार्ड नम्बर २ चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाईको भवन तथा मुसीनाका र खबरीनाकामा गाउँघर क्लिनिकको भवन निमाणर् गरी हस्तान्तरण, उद्धघाटन तथा सेवा शुभारम्भ गर्ने अन्तिम तयारीमा रहेको परियोजनाका प्रबन्धक आनन्द रुचालले जानकारी दिए ।

त्यस्तै आउने बर्ष आम्दा परियोजनाले गढवा गाउँपालिका वार्ड नम्बर ३ को गोबरडिहा र वार्ड नम्बर २ को डाँडागाउँमा सामुदायिक स्वास्थ्य इकाईको भवन तथा वार्ड नम्बर ५ को कक्रहवा र वार्ड नम्बर ६ को खबरीखुट्टीमा गाउँघर क्लिनिकको भवन निमाणर् गर्ने तयारी भईरहेको समेत कार्यक्रममा परियोजनाका प्रबन्धक रुचालले जानकारी दिए ।


सामुदायिक स्वास्थ्य इकाईका अध्यक्ष तथा गढवा गाउँपालिका वार्ड नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा उक्त स्वास्थ्य इकाइको उद्घाटन गरिएको हो ।

भवनको उद्धघाटन गर्दै प्रमुख अतिथी यादवले आम्दा परियोजनाले सिंङ्गो गढवा गाउँपालिका स्वास्थ्य क्षेत्रमा आत्मानिर्भर भएकोमा खुसी व्यक्त गरेका थिए । हामीले चुनाबका समयमा बाचा गरेका एजेण्डाहरु मध्ये स्वास्थ्य सेवा गाउँ—गाउँमा पुर्‍याउने प्रतिबद्धता आम्दा परियोजनाबाट पुरा भएको गाउँपालिका अध्यक्ष यादवले बताए । गढवा गाउँपालिका भरि आम्दा परियोजनाले निर्माण गरेको स्वास्थ्य इकाइ तथा गाउँघर क्लिनिक संञ्चालन तथा व्यवस्थापनको सम्पूणर् जिम्मा अब गाउँपालिकाले लिने अध्यक्ष यादवले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।


गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत शाही, आम्दा परियोजनाका संयोजक ऋषिकेसी श्रेष्ठ, परियोजनाका अधिकृत प्रदिपराज पन्त, परियोजनाका अधिकृत आनन्द रुचाल र स्थानीय समाजसेवी हरिप्रसाद सवेदी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका १ नम्बर वडा कार्यालयका सहायक डोरबहादुर रोकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे