LISTEN LIVE RADIO

सेवा अनुसारको सुविधा नपाएको महिला स्वास्थ्य स्वयमसेविकाहरुको गुनासो



सेवा अनुसारको सुविधा नपाएको महिला स्वास्थ्य स्वयमसेविकाहरुको गुनासो

देउखुरी १९ मंसिर । बिना सेवा सुविधा २४ सैँ घण्टा खटिने महिला स्वास्थ्य स्वयमसेविकाहरुले सेवा अनुसारको सुविधा राज्यले नदिएको गुनासो गरेका छन् । स्वास्थ्य सेवामा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ दाङ-देउखुरीको राप्ती गाउँपालिका—५, स्थित सिसहनियाँ स्वास्थ्य चौकीमा आयोजित २० औँ महिला स्वास्थ्य स्वयमसेविका दिवस कार्यक्रममा बोल्ने महिला स्वास्थ्य स्वयमसेविकाहरुले यस्तो गुनासो गरेका हुन् ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा सिसहनियाँ स्वास्थ्य चौकीको समन्वयमा आयोजना गरिएको महिला स्वास्थ्य स्वयमसेविका दिवस कार्यक्रममा बोल्दै महिला स्वयमसेविकाहरु श्यामा रावत, पुष्षा भट्टराई र छबा केसीले आफूहरु लामो समय देखि निस्वार्थ स्वयमसेविकाको काम गर्दै आएको भएपनि राज्यले आफ्नो काम नदेखेको बताएका छन् ।

उनीहरुले गर्भवती महिलाहरुको हेरचाह, स्वास्थ्य परिक्षणको सहजीकरण, सुत्केरी गराउने काम देखि शिशुहरुको खोप र स्वास्थ्य परिक्षणका कार्यमा सहयोग पुर्‍याउँदै आएको भएपनि राज्यले सेवा अनुसारको सुविधा नभएको भन्दै गुनासो व्यक्त गर्नु भएको छ । आफूहरुले महामारी र खोप र अन्य अवस्थामा समेत घाम, पानी, दिन रात नभनेर काम गर्दा समेत व्यक्तिगत खर्चबाट सेवा दिनु परेको भन्दै गुनासो व्यक्त गरेका छन् ।

सिसहनियाँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयमसेविकाकी अध्यक्ष श्यामा रावतको अध्यक्षता एवम् राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट काम गर्ने तीन जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पुरुस्कृत गरिएको छ, भने उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको छ ।

यसरी उत्कृष्ट काम गरी पुरुस्कृत हुने महिला स्वास्थ्य स्वयमसेविकाहरुमा राप्ती गाउँपालिका—६, निवासी बृजकुमारी चौधरी, राप्ती गाउँपालिका—७, निवासी सुन्दररानी चौधरी र राप्ती गाउँपालिका—८, निवासी अनिता चौधरीलाई फूलमाला, प्रमाण—पत्र र नगद सहित पुरुस्कृत गरिएको छ । यस्तै उत्कृष्ट कार्य सम्पादन गरी सम्मानित हुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुमा सिसहनियाँ स्वास्थ्य चौकीका मेडिकल अधिकृतहरुमा डा. श्रवण चौधरी, डा. भरत पोख्रेल, स्वास्थ्य सहायक निमबहादुर रावत, सिनियर अनमी मनमाया रोका, ल्याब अष्टिटेन रमेश चौधरी, कार्यालय सहयोगी बर्षिकुमारी चौधरी, महिला स्वास्थ्य स्वयमसेविकाहरु तर्फ देबमाया महरा र रामदुलारी चौधरी रहनु भएको छ । सम्मानित हुने सबैलाई फूलमाला, सम्मान—पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समितीको निणर्य अनुसार दिवसका अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने आठ जनालाई सम्मान गरिएको हो ।

महिला स्वास्थ्य स्वयमसेविका रमा खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका-५, नम्बर वडाका कार्यबाहक वडाअध्यक्ष भुपलाल थापा, राप्ती गाउँपालिका स्वास्थ्य शाखा सहायक पदम पौडेल, स्वास्थ्य चौकी इन्चार्ज धनबहादुर खड्का, स्वास्थ्य चौकी व्यवस्थापन समिति उपाध्यक्ष सावित्रा गोतामे, स्वास्थ्य चौकी व्यवस्थापन समिती सदस्य इश्वरीप्रसाद अधिकारी, राप्ती गाउँपालिका-५, नम्बर वडा कल्पना खनाल, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, महिला स्वास्थ्य स्वयमसेविकाहरु पुष्षा भट्टराई र छवा केसी लगायतका वक्ताले महिला स्वास्थ्य स्वयमसेविकाहरु भूमिका अहिले पनि त्यति रहेकोले राज्यले सेवा सुविधा थप गर्न सुझाब दिएका थिए । उनीहरुले महिला स्वास्थ्य स्वयमसेविकाहरु कै कारण महिला र बालबालिकाहरु स्वस्थ भएको दाबी समेत गरेका थिए । कार्यक्रमको सञ्चालन महिला स्वास्थ्य स्वयमसेविका समितीकी सचिव कुसुम चौधरीले गर्नु भएको थियो ।

दिवस समरोह शुरु हुनु अघि विभिन्न स्वास्थ्य सन्देश मूलक नारा लगाउँदै महिला स्वास्थ्य स्वयमसेविकाहरुको एक र्‍यालीले सिसहनियाँ बजार परिक्रममा गरेको थियो । र्‍यालीपछि सिसहनियाँ स्वास्थ्य चौकीको सभाहलमा पुगी औपचारिक समारोहमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे