LISTEN LIVE RADIO

राप्ती प्रादेशिक अस्पताल: पालो कुर्दै बिरामी, डायलासिस मेसिन फिर्ता



तुलसीपुर १३ माघ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस सेवा लिन ८१ जना मृगौलाका बिरामी पालो पर्खेर बसेका छन् तर अस्पतालमा ल्याइएका तीनवटा डायलासिस मेसिन फिर्ता भएका छन् भने अरु पाँचवटा मेसिन थन्किएर बसेका छन् ।

प्रादेशिक अस्पतालमा अहिले चारवटा डायलासिस मेसिन चालु अवस्थामा छन् । विरामीको चापलाई मध्यनजर गर्दै सरकारले केही समय अघिमात्रै आठवटा मेसिन उपलव्ध गराएको थियो । तत्कालीन स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले आठवटा डायलासिस मेसिन अस्पताललाई हस्तान्तरण गरेका थिए तर ती मेसिन जडान नभएर तीनवटा नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ भने अरु पाँचवटा डायलासिस मेसिन अस्पतालमै थन्किएर बसेका छन् ।

तत्कालका लागि अस्पतालले नियमित २२ जना बिरामीबाहेक अरुलाई डायलासिस गर्न नसक्ने जनाएको छ । ती २२ मध्ये दैनिक आठजनाले पालो गरेर सेवा लिइरहेका छन् । मेसिन थोरै हुँदा जम्मा आठ जनाले सेवा पाउने बाध्यता रहेको बेला अस्पतालमै ल्याइएका डायलासिस मेसिन फिर्ता हुने र बचेका पनि थन्किने अवस्थाले मृगौलाका अरु ८१ जना बिरामी मर्कामा परेका छन् । अरु मेसिन जडान नहुँदासम्म तुलसीपुरबाट २२ जनाबाहेक अरुले पालो गरेर पनि सेवा नपाउने अवस्था सिर्जना भएको छ ।

लामो समयसम्म मेसिन जडा नभए पनि स्वास्थ्य मन्त्रालयले नै राप्ती प्रादेशिक अस्पतालमा ल्याइएका तीनवटा डायलासिस मेसिन नेपालगञ्ज मेडिकल कलेजलाई उपलब्ध गराउन पत्र पठाएको थियो । तत्काल जडान गर्न पनि नसक्ने भएपछि अस्पतालले मन्त्रालयको पत्रअनुसार आफ्नै मातहतमा आइसकेका मेसिन पनि नेपालगञ्ज पठाउनुपरेको जनाएको छ । विरामीका एक आफन्तले भने– ‘एकातिर बिरामीले डाइलासिस गर्न पालैपालो सेवा लिइरहेका छन् । कतिले कुरेर बसिरहेका छन् । अर्कोतिर अस्पतालमै आएका मेसिन जडान नहुँदा फिर्ता हुन्छन् । बिरामीको उपचारमा कसले देला ध्यान ?’

आर्थिक र जनशक्ति अभाव

संघीय सरकारले उपलव्ध गराएका आठवटा डायलासिस मेसिन जडान गर्न र त्यसलाई चलाउन जनशक्ति अभाव हुँदा समस्या भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । ती मेसिन जडान गर्न अस्पतालसँग आन्तरिक स्रोत नभएको र सरकारले जडान खर्च नदिदा समस्या भएको छ । ३५ लाख रकम नहँुदा मेसिन जडानमा समस्या उत्पन्न भएको अस्पतालका मेसु डा. ओम अर्यालले बताए । अस्पताल प्रशासन तथा अस्पताल विकास समितिको हारगुहार प्रदेश तथा स्थानीय सरकारले टेरपुच्छरै लगाएका छैनन् । ‘अस्पताल आफैसँग मेसिन जडान गर्नलाई ३५ लाख रुपैया छैन कसरी सेवा दिने ?’– अस्पताल स्रोतले भन्यो– ‘बाँकी रहेका पाँचवटा मेसिन पनि समयमै सञ्चालन हुन नसके सरकारले नै फेरि अन्यत्र लैजान सक्छ ।’

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले प्राप्त भएका मेसिन जडान गरेर सञ्चालन गर्न निरन्तर प्रयास जारी रहेको बताए । हामीले गरेको आग्रहलाई प्रदेश सरकारले नसुनेको डा. अर्यालले गुनासो गरे । ‘मेसिन जडान गर्न हामीले प्रदेश सरकारसँग ३५ लाख मागेका थियौं’– डा. अर्यालले भने– ‘प्रदेश सरकारले कुनै जवाफ नै दिएन ।’ जिल्लामा मृर्गाैलाका बिरामी बढेको भन्दै तत्कालीन स्वास्थ्य राज्यमन्त्री केसीले संघीय सरकारको तर्फबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई मेसिन उपलब्ध गराएका थिए । उपलब्ध भएका मेसिनमध्ये राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबै मेसिन सञ्चालन गरेको छ । संघीय सरकारले प्रतिष्ठानका लागि १० वटा मेसिन उपलव्ध गराएको थियो ।

राप्ती प्रादेशिक अस्पतालले भने रकम अभावको कारण देखाउँदै मेसिन सञ्चालन गर्न सकेन । त्यतिमात्रै होइन जडान गरिहाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ती मेसिन सञ्चालन गर्न जनशक्तिको पनि अभाव छ । मेडिकल सुपरिटेन्डेन्ट डा. अर्यालले आर्थिक र जनशक्तिको अभावले मेसिन चलाउन नसकिएको बताए । ती मेसिन चलाउन ५९ लाख रुपैयाँ खर्च लाग्ने जनाएको छ । यद्यपि हाल सञ्चालन रहेको आरो प्लान्टले नै काम चलाउँदा कम्तिमा ३५ लाख खर्च लाग्छ ।

पानी शुद्धिकरण गर्ने आरो प्लान्ट जडान गरेमा थप २५ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । आर्थिक, जनशक्ति र कोठाको अभावका कारण मेसिन सञ्चालन हुन नसकेको डा. अर्यालको भनाइ छ । हाल सञ्चालन भएका र पछिल्लो पटक प्राप्त भएका मेसिन सञ्चालनका लागि एकजना फिजिसियन, १० जना स्टाफ नर्स, दुईजना कार्यालय सहयोगी आवश्यक पर्छ । अहिले चारवटा डाइलासिस मेसिन चलाउन चारजना स्टाफ कार्यरत छन् ।

चारजना स्टाफले दुई सिफ्टमा दैनिक आठजना बिरामीको डाइलासिस गरिरहेका छन् । कोही बिदामा बसेको अवस्थामा समस्या हुन्छ । बिरामी थप भएको अवस्थामा घोराही, लमही र कोहलपुर पठाउनुपर्ने अवस्था रहेको राप्ती प्रादेशिक अस्पताल डाइलासिस डिमार्टमेन्टमा कार्यरत स्टाफ नर्स लिना भडेलले जानकारी दिए । अस्पताल विकास समितिले डाइलासिस सेवा बढाउन जनशक्ति ब्यवस्थापनका लागि स्थानीय सरकारसँग आग्रह गरेको जनाएको छ । विकास समितिका अध्यक्ष पद्मप्रसाद न्यौपानेले स्थानीय सरकारसँग जनशक्तिको ब्यवस्थापन र प्रदेश सरकारसँग आर्थिक ब्यवस्थापनका लागि आग्रह गरेको बताए।

अस्पताल प्रशासन र विकास समितिले प्रयास जारी राखेको भए पनि प्रतिफल निस्किन नसकेको अध्यक्ष न्यौपानेले बताए । मन्त्रीले मेसिन उपलब्ध गराएको भए पनि आर्थिक समस्याले समयमै सञ्चालन गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेको भनाइ छ । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल र लमहीमा सामुदायिक डाइलासिस सेन्टरमार्फत सेवा उपलब्ध हुँदै आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १६ वटा, राप्ती प्रादेशिक अस्पतालमा चार र लमहीमा ११ वटा गरी ३२ वटा मेसिन चालु अवस्थामा छन् । प्रतिष्ठानले आइसियु कक्षमा पनि डाइलासिस गर्ने ब्यवस्था गरेको छ । अहिले राप्ती प्रादेशिक अस्पतालमा पालैपालो २२ जना, लमहीमा ६७ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक १८ जनाले सेवा लिइरहेका छन् । सरकारले प्रति बिरामी एकपटक डाइलासिस गरेको दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । मिर्गौलाका समस्या भएका बिरामीले साप्ताहिक रुपमा दुई पटक डाइलासिस गर्नुपर्छ । नयाँ युगबाेधबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे