LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको पिपरीमा १६ शैयाको स्वास्थ्य होल्डीङ सेन्टर निमार्ण हुँदै



भालुवाङ १४ पुस । दाङको राप्ती गाउँपालिका वडा नं.८ पिपरीमा १६ शैयाको स्वास्थ्य होल्डीङ सेन्टर भवन निमार्ण कार्य सुरु भएको छ ।

प्राकृतिक प्रकोप तथा कोभिड–१९ को रोकथाम र नियन्त्रण लगायत अन्य महामारी रोगहरुका कारण बिरामी परेका बिरामीहरुलाई राख्नका लागि स्वास्थ्य होल्डीङ सेन्टर बन्न लागेको हो । जापान सरकारले खानेपानी तथा स्वास्थ्यको माध्यमबाट साना तथा मझौला शहरी परियोजन मार्फत उपलब्ध भएको करिब कुल ३ करोड सहयोग मध्ये १ करोड ८० लाख रुपैयाँको लागतमा सो भवन बन्न लागेको हो ।

पारामाउन्ट कन्स्ट्रक्सन प्रालि ललितपुरको सम्झौतामा भवन तथा प्रयोगशाला सहितको सुविधा युक्त भवन बन्न लागेको छ । सो सेन्टरमा ८ महिला र ८ पुरुष गरी १६ शैया बन्ने छ भने अत्याधुनिक ल्याब सहित अपांगमैत्री शौचालय समेत निर्माण गरिने भएको छ ।
त्यस्तै ट्याक्टर सहित एक वटा मोबाईल शैचालय रहने छ भने ४ हजार जनताहरुलाई स्वास्थ सचेतना मुलक तालिमहरुको आयोजना गरिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिएका छन् ।

यसै बीच स्वास्थ्य होल्डीङ सेन्टर भवनको बुधबार लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले शिलान्यास गरेका छन् । भवन शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, राप्ती गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष गेम बहादुर खड्का, वडा नम्बर ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ, पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावत, प्राविधिकहरु, समाजसेवी तथा बुद्धिजीवीहरु र स्थानीयहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे